नेपाली भाषी भुटानीका इतिहास दस्ताबेजमा कस्सिएका युवा

पेन्सिल्भेनिया,अमेरिका/ उनी त्यस्तै तीन वर्षका थिए, बुबा आमाका साथ भुटानको कालिखोलाबाट लखेटिँदा। क्रूर भुटानी राजाले उनी अर्थात् लक्ष्मी अधिकारी र उनको परिवार मात्र होइन समुदायका एक लाख भन्दा बढी नेपाली भाषीलाई खेदेको थियो।
अधिकारी भुटानमा जन्मिए, तर माटोको सुगन्ध अनुभूति गर्न पाएनन्। अभिभावकको काखमा पुर्खाको भूमि नेपाल आएका उनले झन्डै १८ वर्ष झापाको शरणार्थी शिविरमा बिताए। त्यस पछि शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्तर्गत उनको परिवार सन् २००९ मा अमेरिका आइपुग्यो।
जीवन ठिक ठाक चल्दै थियो, विश्वका कयौँका लागि सपनाको देश अमेरिकामा। नयाँ ठाउँ नयाँ परिवेश। सबै कुरा शून्यबाट सुरु गर्नु पर्ने थियो सुरुवाती दिनमा ।
जवानीले उकालो चढ्दै गर्दा उनको मस्तिष्कमा आफूले तीन वर्षको हुँदै गर्दा छोडेको कालिखोलाको माटोको सुगन्धले कता कता आकर्षित गर्दै गर्थ्यो। तर जति नै सम्झन खोजे पनि दृश्य धुमिल नै हुने।
अमेरिकामा रहेको आफ्नो समुदायले आर्थिक रूपमा पनि राम्रै प्रगति गरेको थियो। बेला बेला जमघट हुन्थे नै। उनी चाख लिएर सुन्थे,उनी जन्मेको देशका कुरा, उनका बाउ बाजेले पसिना बगाएको भुटानको कथा। नेपालमा झन्डै दुई दशक बिताएका ती दिनका कुरा।
अग्रजका कुराले अधिकारीलाई उद्वेलित बनाएकै थियो। शिविरमा हुँदा उनले नाटक खेलेका थिए। अभिनयमा औधी रुचि थियो। स्कुलका कार्यक्रम हुन् वा दसैँ-तिहार मौका पायो कि उनी नाची हाल्थे। सर्लक्क जीउडाल परेका उनले अमेरिका आए पछि पनि केही म्युजिक भिडियोमा मोडलिङ गरे। तर मन अडेको थिएन। मन आफ्नो उद्गमतिर नै फर्किरहेको हुन्थ्यो ।
सन् २०२० मा कोभिडले विश्व नै ठप्प जस्तै भयो। सबै जना आफ्नै घरमा कैदी जस्तै भए कोभिडका कारण। सबै तिर अन्योल थियो। छटपट पनि। लास गनिएका बाहेक अरू त समाचार नै नहुने। घरमा थुनिएपछि के गर्ने के नगर्ने भन्ने भयो अधिकारीलाई पनि । त्यसै मेसोमा पोडकास्ट सुन्न थाले। जो रोगनको पोडकास्ट त उनका लागि नियमित खुराक बनेको थियो।
एक रात निदाउँदै गर्दा उनको मस्तिष्कमा इच्छा जाग्यो- हाम्रो समुदायको किन नगर्ने? हाम्रा मान्छेका कुरा किन डिजिटलाइज्ड नगर्ने ? उनी आफैँलाई कालिखोलाका जीवनबारे अझै धेरै सुन्नु थियो। भुटानबाट किन खेदिए, पुर्खाको भूमिमा के कस्ता हन्डर खानु पर्यो ? यी सबै कुराको दस्ताबेज बनाउनु पर्छ। भोलीको पीढीलाई त्यो कुरा सुनाउनु पर्छ भन्ने भयो। साथै, अमेरिका आएपछि समुदायले गरेको प्रगतिका अनुभव पनि अरूलाई सुनाउनु पर्छ भन्ने थियो।

लक्ष्मीका आफ्नै भाइ उत्तम अधिकारी ग्राफिक्स डिजाइनर थिए। उनले भाइलाई मनको कुरा सुनाए। परशु अधिकारी, मोहन अधिकारी र दीपक सापकोटाले प्राविधिकमा सहयोग गर्ने बचन दिए। सन् २०२१ डिसेम्बर पाँच तारिखको शुभ साइतमा सुरु भयो ‘पिजन फेदर स्टुडियो’ ।
‘नाफा कमाउला भनेर होइन, हाम्रै समाजका मान्छेहरूसँग गफ गरौँ, पुराना कुरा, हाम्रो इतिहास अभिलेख गरौँ, यहाँ आएकाहरूले गरेका प्रगतिका कुरा जसले नयाँ पुस्तालाई प्रोत्साहन होस् । यसैका लागि हामीले स्टुडियो सुरु गरेका हौ।’ एक सयौँ एपिसोड पुरा गरे पछि उत्साहित लक्ष्मीले समाज टाइम्ससँग भने।
लक्ष्मीले पेन्सिल्भेनिया राज्यको मेकानिसबर्गमा रहेको आफ्नै घरको बेसमेन्टमा गज्जबको स्टुडियो बनाएका छन्। स्टुडियोका लागि कति लगानी भयो उनले ठ्याक्कै हिसाब किताब गरेका छैनन्।
पाहुनालाई उनी त्यहीँ निम्ता दिन्छन् र धित मर्ने गरी पुराना र नयाँ कथा सुनाउन लगाउँछन्। नेपाली भाषी भुटानी समुदायका दुःखका कुरा, सुखका कुरा प्रगतिका कुरा सबै कुराको सँगालो बनेको छ ‘पिजन फेदर स्टुडियो’।
‘मैले मजा लिइरहेको छु, धेरै नयाँ कुरा सिकेको छु। अल्छी लागेको छैन। तर, आफ्नै कामको चाप परेको बेला शुक्रवार छिटो आएको हो की भन्ने लाग्छ।’ आफ्नो अभियानले दुई वर्ष पार गरेकोमा खुसी हुँदै लक्ष्मी भन्छन्।, ‘भुटानी समुदायका साथै चासो राख्ने अरूले पनि हाम्रा पुराना दिन र वर्तमान एवं समग्र इतिहासबारे थाहा पाएको बताउनुहुन्छ । हौसला बढेको छ ।’
भिडियो सहितको पोडकास्ट युट्युब च्यानलमा हरेक शुक्रवार अपलोड हुन्छ। दुई लाख भ्यु कटेका एपिसोड दुई वटा छन्। मनिटाइज भएका कारण अलिअलि पैसा पनि आउन थालेको छ।
”हामीले पैसा कमाउने हिसाबले यो अभियान सुरु गरेका होइनौँ।’ लक्ष्मी भन्छन्,’अहिले तत्काल मान्छेलाई यो सामान्य लाग्न सक्छ तर यो त हाम्रो समुदायको दस्ताबेज हो जुन जुग जुगसम्म एउटा खुल्ला किताबको रूपमा रहने छ।’
श्रीमती र एक छोरीसँग बस्दै आएका लक्ष्मी आफ्नो अभियानमा परिवारबाट पनि राम्रै सहयोग पाउँदै आएको बत्ताउँछन्। ‘घर परिवार साथीभाइहरूबाट राम्रै सुझाव आएको छ, हौसला दिएका छन्, रोक्न हुँदैन जारी राख्नुस् भनेका छन्, यो अभियान हो रोकिँदैन।’ कुराकानीको बिट मार्दै उनले भने ।