सुन्दर सुदूरपश्चिमको सपनाबाट अरू क्षेत्रले प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् ।
सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै उनले भने, ‘हामीले खोजेको समृद्ध संघीय समाजवादी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ ।’
आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्ने बताउँदै उनले उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न आह्वान पनि गरे ।
उनले भने, ‘लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ ।’
अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै यसमा आफूहरु सफल भएको प्रधानमन्त्रीले बताए ।
उनले भने, ‘हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ ।’