एनसेल खरिद विक्री प्रकरणमा छानविन आवश्यक : सत्तारुढ गठबन्धन

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले एनसेलको शेयर खरिद–बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर पनि गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलको शेयर खरिद–बिक्री नभएको बताए । शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको पनि सञ्चारकर्मीलाई बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ तथा लोपसा अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी थिए ।
त्यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङसहित विभागीय कर्मचारीलाई पनि बैठकमा बोलाएर विद्यमान कानुन, प्रक्रिया र कारबाहीबारे शीर्ष नेताहरुले छलफल गरेका थिए ।