सुनचाँदी र नगदसहित एकजना पक्राउसुनचाँदी र नगदसहित एकजना पक्राउ

काभ्रे । बनेपा नगरपालिका-७ बखुन्डोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुतेलाई बिलबिजक नभएको सुन जस्तो देखिने धातु करिब २० तोला तथा चाँदी १ सय ६२ तोला र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा सुन, चाँदी लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उक्त सुन, चाँदी र नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
अवैध सुनसहित विमानस्थलबाट दुईजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगित केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगितको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भएका ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्ण श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ
सुनसरी । इटहरी उपनहानगरपालिका-२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडीबाट खुकुरीले प्रहार गर्दा गम्भीर घाइते भएकी पुरीको तरहरा सामुदायिक अस्पताल तरहरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहरा र प्रहरी बिट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।