स्लोभेनियामा सम्पन्न ‘ट्रोब्लजे ओपन’ करातेमा टिम इमास्का- डिस्कालाई दुई स्वर्ण सहित आठ पदक

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ युरोपेली मुलुक स्लोभेनियामा सम्पन्न ट्रोब्लजे ओपन करातेमा टिम इमास्का- डिस्काले दुई स्वर्ण सहित आठ पदक जितेको छ।
ट्रोब्लजे ओपन युरोपको पुरानो र प्रख्यात कराते प्रतियोगिता हो। प्रतियोगितामा आठ मुलुकका ५९ क्लबका गरी पाँच सय २४ खेलाडीले भाग लिएका थिए।
डिसेम्बर दुई तारिखमा सम्पन्न ट्रोब्लजे ओपनको ५१ औँ संस्करणमा अमेरिकाबाट ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो (डिस्का) र इन्टरनेश्नल माबुनीहा सितोरियो कराते एसोसिएसन (इमास्का) को संयुक्त टिमले प्रतियोगितामा भाग लिएका हुन्।
डिस्का नेपाली भाषी भुटानीहरूले स्थापना गरेको करातेको संस्था हो। डिस्का स्थापना पछि पहिलो पटक युरोपियन प्रतियोगितामा सहभागी भएको हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पाँचौ पटक भाग लिएको हो।

ट्रोब्लजे ओपनमा टिम डिस्का-इमास्काबाट १३ खेलाडीले भाग लिएकोमा आठ पदक जित्न सफल भएका हुन्।
ट्रोब्लजे ओपनमा भर्नन मगरले एक स्वर्ण र एक रजत गरि दोहोरो पदक जिते। यस्तै नाम्साहाङ राई पनि कुमुतेमा स्वर्ण जिते।
यस्तै आयुस तामाङले कुमुते र कातामा गरि दुई कास्य पदक जिते। यस्तै रेहन पन्दक, बन्दना राई र प्रेलिसा अधिकारीले पनि एक एक कांस्य पदक हात पारे।
डिस्काका प्रमुख प्रशिक्षक रन राईले खेलाडीहरूको प्रदर्शनबाट आफू उत्साहित भएको बताए। उनले आफ्ना खेलाडीले युरोपियन खेलाडी सरहकै प्रदर्शन गरेको दाबी गरे।
“हाम्रो खेलाडीको प्रदर्शन उच्च कोटीकै थियो, युरोपियन खेलाडीको जतिकै प्रदर्शन गरेको हो तर केही प्राविधिक कमजोरीले गर्दा सोचे जस्तो मेडल प्राप्त गर्न सकिएन।” प्रमुख प्रशिक्षक राईले भने,” तर पनि हामी धेरै कुरा सिकेर आउदैछौँ।”
डिस्काका कोषाध्यक्ष तथा टिम प्रबन्धक टेक नेपालले आफ्ना खेलाडीको प्रदर्शन उत्कष्ठ रहेको बताए।
“हामीले युरोपको खेलबाट धेरै सिक्यौ, प्राविधिक कुराहरू सिक्यौ र अबको बाटो अलिक फरक तरिकाबाट जानु पर्छ भन्ने महसुस भएको छ ।”
कराते क्लब ट्रोब्लजेका अध्यक्ष बोगदान सिमरलको पहलमा, अमेरिकी टोली इमास्का- डिस्काले प्रतियोगितामा भाग लिएको हो।
प्रतियोगितामा सहभागी हुन पुगेको टोलीलाई उक्त सहरका मेयर म्यागले आफ्नै कार्यकक्षमा स्वागत गरेका थिए । सो अवसरमा डिक्का प्रमुख प्रशिक्षक राईले मेयर म्यागलाई ढाका टोपी लगाइदिएका थिए।
सो भेटमा इमास्का प्रमुख डा रबी रागमन, इमास्काकै प्रशिक्षक जेसन मरनो, डिस्काका सहायक प्रशिक्षक निम लामा, राज बराल, डेनी तामाङ्ग र टिम प्रबन्धक टेक नेपाल पनि थिए।