जनचेतना जगाउन प्रहरीले थाल्यो ‘लालटिन अभियान’

काठमाडौं । कर्णाली प्रदेश लागुऔषध कारोबार र प्रयोगको ‘हट स्पट’ बन्दै गएपछि प्रहरीले यसको ओसारपोसार र प्रयोग नियन्त्रण गर्न विद्यालयहरुमा (लालटिन अभियान) सुरु गरेको छ ।
सडक सञ्जालको पहुँच पुगेसँगै हुम्ला, मुगु लगायतका हिमाली जिल्लाहरुमा लागुऔषध ओसारपोसारको जालो फैलिन थालेपछि यसको नियन्त्रण गर्न प्रहरीले ‘लालटिन अभियान’ मार्फत गाउँगाउँमा जनचेतना फैलाउन लागेको हो ।
सभ्य, शान्त र लागुऔषधमुक्त समाज बनाउनु अभियानको प्रमुख उदेश्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अभियान अन्तर्गत प्रहरीले मुगुका माध्यमिक बिद्यालयमा अध्यनरत विद्यार्थी, बाल क्लव तथा क्याम्पसमै पुगेर कक्षा सञ्चालन गर्दै लागुऔषध ओसारपोसारमा रोकथाम र प्रयोगका नकारात्कम असरबारे जानकारी दिन थालेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको लालटीन अभियान अन्तर्गत मुगु जिल्लामा छाँयानाथ रारा नगरपालिकामा रहेका एक दर्जन माध्यामिक विद्यालयमा जनचेतना कक्षा दिइएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
साथिहरुको लहैलहैमा लागेर बजारमा अबैध रुपमा ब्यापार गर्ने युवा पुस्ता र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाई गरि धनी बन्ने लालचमा परि लागू औषधको सेवन, व्यापार र ओसारपोसार गर्दा भित्रभित्रै भुसमा आँगो सल्के झैँ युवा र समाज उत्पादनशील भन्दा लागुऔषधको झालोमा फस्दै गएको भन्दै नियन्त्रण गर्न लाल्टिन अभियान सञ्चालन गर्नुपरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक -डिएसपी_ विरेन्द्र थापाले बताए ।