भाइ टीका अक्टोबर १५, बुधवार : लेखनाथ गौतम
डालस, टेक्सस। यसपालि नेपालीहरूको दोस्रो महान् चाड तिहार अर्थात् भाइ टीका अक्टोबर १५, बुधवारका दिन परेको छ। संसारभर छरिएर रहेका नेपालीहरूले यसलाई आफ्नो मौलिक संस्कृति र परम्परागत आधारमा मनाउदैछन्। यमपञ्चक भनेर समेत भनिने यो पर्वमा काग, कुकुर, गाई वा लक्ष्मी पूजा, गोवर्द्धन पूजा र म्ह पूजा गरिन्छ भने अन्तिम दिन दिदीबहिनीहरूबाट दाजुभाइलाई टिका लगाइदिने प्रचलन रहेको छ।
तिहारलाई जनमानसमा विभिन्न नामले सम्बोधन गरिन्छ। यसलाई भाइ टीका र दीपावली पनि भन्ने गरिन्छ। तिहारलाई “उज्यालोको पर्व” भन्ने पनि गरिन्छ किनभने तिहारमा घर, बजार जताततै बत्तीहरू बालेर उज्यालो पारिन्छ। माटोको दियोमा तेल राखी बाती बालिन्छ र घरको ढोका, पिँढी देखि कुना कुनामा राखिन्छ। समयसँगै मैनबत्ती देखि अहिले निस्केका विद्युतीय बत्तीहरू समेत जडान गरेर घर झिलिमिली पारिन्छ।
तिहारमा जनावर भएर पनि मानवको सेवा गर्ने कुकुर र गाइको पूजा गरिन्छ। यी जनावरहरूलाई सयपत्री र मखमली माला लगाइदिनुको साथै टिका लगाएर उनीहरूले मानव माथि लगाएको निःशुल्क गुन तिर्ने प्रयत्न गरिन्छ। गोवर्द्धन पूजाको दिन म्ह पूजा गरिन्छ जुन नेवारी समुदायमा प्रचलित रहेको छ। सो दिन आफैले आफैलाई पूजा गरेर आफ्नो पनि महत्त्व छ भनेर सचेत हुने गरिन्छ।
तिहारका यी पाँच दिनहरूमा तेस्रो दिन लक्ष्मी पूजा विशेष महत्वका साथ मनाउने गरिन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजा विभिन्न तरिकाले धूमधामसाथ गरिन्छ। सेल रोटी बनाउने, देउसी भैलो खेल्ने काम पनि यस दिन गरिन्छ भने लक्ष्मीलाई आफ्नो घरमा भित्राउन बाटो देखि घरको ढोकासम्म चामलको पिठो, बालुवा र फुलको सहायताले बाटो तयार गरिन्छ। विभिन्न रङ्गको प्रयोग गरेर बनाइने भएकोले यसलाई रंगोली पनि भन्ने गरिन्छ।
तिहारको अन्तिम दिन भाइटिका पर्छ र यस दिन दिदीबहिनीहरूका हातबाट दाजुभाइले टिका लगाउने गर्छन्। चामलको पिठोमा पानी हालेर बाक्लो बनाइन्छ र निधारको बिचमा ठाडो पारेर त्यसमा सात वटा रङ्ग भरिन्छ। पहिले पहिले तीन वटा सम्म टिका लगाउने चलन भए पनि आजकल एउटा मात्र टिका लगाइन्छ। टिका लगाउनु अघि सबै दाजुभाइलाई पानी र तेलको घेरो भित्र राखेर पूजा गरिन्छ। यो घेरोभित्र रहेको कुनै दाजुभाइलाई यमराजले पनि नलैजाने सर्त रहेको किम्बदन्ती पाइन्छ। टिका पछि सयपत्री र मखमली फुलको माला लगाइदिनुको साथै सेल रोटी र अन्य मिठा मिठा खानेकुरा दिने चलन छ भने दाजुभाइले पनि आफ्नो गच्छे अनुसार उपहार दिने प्रचलन आदिकलादेखि चल्दै आएको छ।
तिहारको परम्परागत महत्त्व
तिहारको बारेमा धेरै खालका किम्बदन्तीहरू पाइन्छ। यसलाई खास गरी बलि राजासँग जोडेर नै प्रमुख रूपमा व्याख्या गरिएको पाइन्छ। यसमा देवी लक्ष्मी र राजा महाबली बिचको दाजु बहिनीको सम्बन्धको कडी पनि निकै रोचक रहेको पाइन्छ।
बलि एक असुर राजा थिए। उनका हजुरबुवा प्रह्लाद थिए भने बुवा विरोचन। महाबली भगवान् बिष्णुका भक्त थिए भने गुरु शुक्राचार्यबाट शिक्षा लिएका थिए। उनको शासनमा कुनै खालको विभेद वा समस्याहरू थिएनन्। राज्य अत्यन्त राम्रोसँग सञ्चालन भएको थियो। तर बिस्तारै बलि राजामा महत्त्वाकाङ्क्षा बढ्दै गयो। उनले स्वर्ग, मर्त्य र पातालको राजा बन्ने योजना बनाए र सबै लोकका राजा बने।
उनलाई यी तिनै लोकमा सधैँ राजा बनिरहने लोभ जाग्यो। यसको लागि एक सय वटा अस्वमेघ यज्ञ गर्ने योजना गरे। आफ्नो शासन गर्ने पालो आउन लागेका इन्द्र यसबाट डराए। उनीहरूले भगवान् बिष्णुलाई यो कुरा भने। बिष्णु भगवानले आफ्ना भक्तको यस्तो भित्री योजना थाहा पाए पछि उनलाई रोक्न उपाय निकाले। एकदम दानी राजाको परिचय बनाएका बलि राजा सामु एक ब्राह्मण भिक्षुको रूपमा उपस्थित भए। उनले भिक्षाको रूपमा तीन पाइला जमिन मागे। तीन पाइला जमिन दिन बलि राजा तयार भए।
गुरु शुक्राचार्यले बलि राजालाई सचेत बनाए पनि उनी तीन पाइला जमिन माग्न भने। भिक्षुको रूपमा आएका भगवान् बिष्णुले आफ्नो विराट स्वरूप देखाएर दुई पाइलामा सबै लोक कब्जा गरे। तेस्रो पाइलाको जमिन बाँकी नभए पछि भगवान् बिष्णुले कहाँ टेकौँ भनेर सोधे र बलि राजाले आफ्नो टाउकोमा टेक्न अनुमति दिए। भगवान् बिष्णुले बलि राजाको टाउकोमा टेके र उनलाई पातालमा पुराए।
तर भगवान् बिष्णुलाई बलि राजाको भक्ति प्रति निकै श्रद्धा थियो। बलिराजलाई पातालको राजा बनाइदिए। पछि एक बलियो व्यक्तिको रूप धारण गरेर पाताल पुगेर पालेको रूपमा बलि राजाको सेवा गरे। बिष्णु सँगै लक्ष्मी पनि सामान्य युवतीको भेष धारण गरेर पाताल पुगिन र शरण मागेर दाजु बहिनीको रूपमा लामो कालसम्म बसिरहे। केही समय पछि बिष्णु र लक्ष्मी आफ्नो असली रूपमा देखा पर्दै बलि राजालाई आशीर्वाद दिएर वैकुण्ठ प्रस्थान गरे ।
यही बेला देखि तिहारमा दाजुभाइ र दिदी बहिनी बिचको अलौकिक सम्बन्धलाई मनाउने गरिएको किम्बदन्ती पाइन्छ।
यी र यस्तै सयौँ कथा, किम्बदन्ती र उदाहरणहरू छन् जसले हामीलाई संसारका अन्य समुदाय भन्दा धनी र संवृद्ध बनाएका छन्। हामीले हाम्रा चाडबाडलाई मौलिक रूपमा मनाउन सक्यौँ भने मात्र यी चाडको वास्तविक अनुभूत गर्न सकिन्छ। यो वा त्यो नाममा हाम्रो वास्तविक जरा र भावनासँग जोडिएका रसायनहरूलाई हटाउने हो भने यी पर्वहरूको उपादेयता समाप्त हुनेछ।
यी पर्वहरू खालि रमाउने, मस्ती गर्ने देखावटी अवसरको रूपमा प्रयोग हुनेछन्। त्यसै पनि चाडबाडमा आधुनिकताको नाममा विकृति र विसङ्गति बढेकै छ। जसरी जरो बिनाको रुख धेरै दिन रहन सक्दैन, त्यसै गरी जरो र मौलिकता नभएको पर्व धेरै दिन टिक्न सक्दैन। यसलाई जति सकिन्छ मौलिक रूपमा मनाउँदै हाम्रा संस्कृतिका धरोहरको रूपमा रहेका चाडबाडहरूलाई मनाउन प्रयत्न गरौँ।