हेल्प नेपालले थाल्यो सहयोग संकलन अभियान

लन्डन। बेलायतस्थित कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क यूके, ले पश्चिम नेपालमा गत शुक्रबार राती गएको भूकम्पमा परी प्रभावित परिवारहरुको सहयोगार्थ सहयोग संकलन अभियान शुरु गरेको छ।
हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले पश्चिम रुकुम र जाजरकोटबाट टेन्ट, औषधि, खाद्यान्न तथा जाडोका लागि न्यानो कपडाको माग आइरहेको बताए। “हामीसंग स्थानीय स्तरमा स्वयम्सेवी संस्था र स्वयंसेवकहरु हुनुहुन्छ। उहाँहरुको साथ र सहयोगबाट हामीले तत्काल राहत वितरण शुरु गर्न लागेका छौं।
त्यस्तै हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले पश्चिम नेपालका भूकम्प प्रभावितहरुलाई मन खोलेर सहयोग गर्न युके तथा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई आग्रह गरे। “हेल्प नेपालले विगतमा पनि महाभूकम्प होस् वा कोभिड महामारी, तपाईंहरुको सहयोगलाई पीडित परिवारसम्म आपतकालीन तथा मानवीय सहयोग पुराउँदै आएको छ। यसपटक पनि भूकम्प पीडित परिवारहरुलाई तत्काल सहयोग पुराउन तपाईंहरुको अमूल्य सहयोगका लागि हामी अपिल गर्दछौँ। “
सन् २०१५ मा गएको महाभूकम्प पछि संसार भरिका नेपालीहरुको सहयोगबाट हेल्प नेपाल नेटवर्कले झन्डै ६ हजार परिवारलाई आपतकालीन राहत वितरण गरेको थियो भने ६ ओटा अस्थायी स्वास्थ्य चौकीको निर्माण तथा ६ ओटा विद्यालयहरुको पुनर्निर्माणमा सघाएको थियो। त्यस्तै स्वास्थ्य शिविरहरु पनि संचालन गरेको थियो।
“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतमा स्थापना गरिएको नेटवर्क (www.helpnepal.net) ले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।
यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्कले सबै प्रवासी नेपालीहरु तथा नेपालका मित्रहरुलाई आग्रह गरेको छ।
https://www.justgiving.com/page/nepal-earthquake-appeal-2023
हेल्प नेपाल नेटवर्क अमेरिका तथा हेल्प नेपाल नेटवर्क अष्ट्रेलिया शाखाले पनि सहयोग संकलन अभियान शुरु गरेका छन्।