एनआरएन आरके समूहले राहतकोषमा २१ लाख जम्मा गर्ने, अध्यक्षसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आरके शर्मा समूहले पश्चिम नेपालमा आएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्दारकार्य जारी रहेको छ ।
एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव वुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएन अभियन्ताहरुबाट संकलन गरेर २१ लाख रुपैयाँ जम्मा गर्ने अध्यक्ष शर्माले जानकारी दिए । उनले भने ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’
साथै थप राहत तथा उद्दारका लागि एनआरएन तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनले उद्दारमा सहभागिता जनाउने बताउँदै त्यसका लागि केही व्यक्तिहरु शनिबार नै नगएको र आफूहित थप व्यक्ति चिकित्सकीय टोलीसहित त्यता जान लागेको पनि जानकारी दिए ।