एनआरएन : सचिवालयका कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको सचिवालयका सवै कर्मचारीलाई विदा दिइएको छ । ११ औं महाधिवेशनपछि विभाजित बनेको एनआरएनएको आधिकारिताको विषयलाई लिएर विवाद बढ्दै जाँदा सचिवालयमा कर्मचारीहरुले काम गर्न पाएका छैनन् ।
एनआरएनको महाधिवेशन पछि भेरो भोटिङबाट निर्वाचित बद्री केसी समूह र उक्त नतिजा अस्वीकार गर्दै समानान्तर समिति गठन गरेको आरके शर्मा समूहको विवाद बढ्दै जाँदा मंगलबार त सचिवालयमा हातपात नै भएको थियो ।
त्यसअघि नै शर्मा नेतृत्वको समूहले एनआरएएको सचिवालय पुगेर कर्मचारीहरुलाई आर्थिक कारोबार नगर्न सचेत गराएको थियो । वद्री केसी पक्षले पेमेन्ट लगाएतका कुराहरु गर्न कर्मचारीलाई आग्रह गर्ने र अर्को पक्षले कुनै पनि कारोबार नगर्न निर्देशन दिने कार्यपछि तनाबमा रहेका कर्मचारीहरुलाई घरमै बस्न भनिएको छ भने एनआरएनएको सचिवालयमा बेलाबखत प्रहरी पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिने गरेको दरबारमार्ग बृत्तका एक अधिकृतले समाजटाइम्सलाई बताए ।
एनआरएनए तनावः दुवै पक्ष पुगेर उजुरी लिएर प्रहरीमा [दुवै निवेदनसहित]
कर्मचारीहरु घरमा बस्दा कार्यालयको काम प्रभावित भएको छ भने अन्य कुराहरु पनि अघि बढ्न सकेको छैन । महाधिवेशन अघि गरिएका कार्यक्रमहरुको पेमेन्ट लगाएतका कुराहरु बाँकी रहेको एक कर्मचारीले बताए । तर, अहिले कर्मचारीहरु कार्यालयमा उपस्थित नभएकाले सबै कुरा रोकिएको ती कर्मचारीले पुष्टि गरे ।
एनआरएनए कार्यालयमा पत्रकार ओम शर्मा कुटिए
शर्मा पक्षबाट बढी टर्चर भएकोले कर्मचारीलाई विदा दिएर घरबाटै काम गर्ने व्यवस्था मिलाइएको केसीले बताएका छन् । शर्मा पक्ष मंगलबार एनआरएनको सचिवालयमा पुग्दा एनआरएनएका सिईओ राजेन्द्र राउतसहित कर्मचारी कोही पनि थिएनन् भने युवासंघको कार्यक्रम सभाहलमा भइरहेको थियो । सोही कार्यक्रमको फोटो खिच्दा पत्रकार ओम शर्मा कुटिएका थिए ।