गुटरेसको भ्रमणले विश्व समूदायमा नेपालका प्रतिष्ठा बृद्धि हुन्छ : प्रधानमन्त्री प्रचण्ड
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने बताएका छन् ।
नेपाली कांग्रेसले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न एन्टेनियो गुटेरेसको भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
उनले, भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा भएको कूटनीतिक पहलका कारण संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउन लागेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकासनिर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको बताए ।
मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए । तर त्यो तयारीबारे भने प्रष्ट पारेनन् ।














