गाजामा आक्रमण गर्न इजरायल स्वतन्त्र छ : अमेरिका
पेन्सिल्भेनिया । इजरायलले गाजा पट्टीमा आक्रमणलाई तिब्र बनाएको छ । इजरायली सेनाले पनि गाजा पट्टीमा जमिनबाटै आक्रमण सुरु पनि गरेको छ । यसबीचमा अमेरिकाले इजरायललाई रोक्ने प्रयास नगरेको बताएको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले गाजा पट्टीमा इजरायलको भू-आक्रमणको आकार र लम्बाइबारे टिप्पणी नगर्ने बताएका छन् ।
जोन किर्बीले भनेका छन्, ‘आत्मरक्षामा इजरायलले चालेका कदमलाई अमेरिकाले समर्थन गर्छ र उनीहरू इजरायललाई रोक्ने सोचमा छैनन् । किर्बीले भने कि अमेरिकाले इजरायलसँग गाजामा नागरिकको सुरक्षा गर्नुपर्छ, हमासले अपहरण गरेका इजरायली नागरिकलाई सुरक्षित फिर्ता गर्नुपर्छ र जमिन आक्रमणपछि के हुन सक्छ भन्ने विषयमा पनि निरन्तर छलफल भइरहेको बताए ।
किर्बीले भने, ‘हामी सुरुदेखि नै इजरायलसँग सम्पर्कमा छौं । हामी आम नागरिकको चिन्ता गर्छौं र यसबारे कुरा गर्न हामीलाई कुनै हिचकिचाहट छैन। यसका साथै झगडामा के के क्षति हुनसक्छ भन्ने पनि छलफल भइरहेको छ । हामी साथी हौं र साथीहरूले गर्ने काम यही हो।
इजरायलले शुक्रबार रातिदेखि गाजा पट्टीमा आक्रमणलाई तीव्र पारेको छ। यसका साथै गाजा पट्टीमा इन्टरनेट र सञ्चारका अन्य साधनहरू पनि बन्द गरिएको छ जसले गर्दा गाजाका जनताले एकअर्कालाई सम्पर्क गर्न नसक्ने भएका छन् । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने कि हामीले आफ्नो उद्देश्य हासिल गर्न हमलालाई तीब्र बनाएका छौं । जमिन आक्रमण पनि छिट्टै सुरु हुँदैछ। इजरायल र हमासबीच जारी युद्धको २२ दिन बितिसकेको छ र अहिलेसम्म यस युद्धमा ८५०० जनाको मृत्यु भइसकेको छ । जसमध्ये गाजा पट्टीमा ७३०० र इजरायलमा १४ जनाको ज्यान गएको छ ।














