आधिकारिकताको दावी गर्दै परराष्ट्रमा आरके समूहको निवेदन दर्ता

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आरके शर्मा समूहले आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट समूहले शर्माको नेतृत्वमा कार्यसमिति चयन गरेको घोषणा गरेको थियो ।
सोही समितिले परराष्ट्र मन्त्रालयमा अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै आफूहरु आधिकारिक रहेको दावी गरेको हो । परराष्ट्रले ११२३ नम्बरमा दर्ता गरेको छ ।
परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा र महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।
आधिकारिकताको दावी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।
निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको सून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरु दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए ।
पछि ललितपुरको होटेल हिमालयमा बन्द सत्र गरेर आरके शर्माको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन गरिएको घोषणा गरिएको थियो । आरके समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ ।
परराष्ट्रमा निवदेन दर्ता गराएपछि एनआरएनएको सचिवालय बालुवाटार जाने बताइए पनि अन्तिम समयमा यो समूह भने गएन । आज कार्यालय समय सकिएकाले आइतबारमात्रै बालुवाटार जाने तय भएको आरके समूहका महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।
