भेरोको छानबिन हुनु पर्छ, गल्ती देखिए म पनि पद छोड्न तयार छु: डा अर्जुन बन्जाडे

पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अध्यक्ष भेरोको चुनावी प्रक्रिया बारेमा छानबिन हुनु पर्ने बताएका छन्।
एनआरएनएको पछिल्ला चुनाव अस्ट्रेलियन कम्पनी भेरो भोटिङबाट गरिएको हो । एनसीसीको निर्वाचनमा छुटफुट गुनासा आए पनि आइसीसीको निर्वाचनमा भने गम्भीर त्रुटि देखिएको थियो।
एनआरएनए निर्वाचन कमिटीले सार्वजनिक गरेको नतिजामा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेललेको नेपाल बुथबाट शून्य मत देखिएको थियो। यस्तै अन्य उम्मेदवारको पनि जोड मिलेको देखिएको थिएन।
त्यस पछि नतिजालाई लिएर विवाद भएको थियो। सोही क्रममा सुरुमा पराजित भनिएका डा पौडेललाई विजयी घोषणा गरिएको थियो। विवादकै बिच डा बद्री केसी र उनको टिमबाट विजयी अधिकांश पदाधिकारीले शपथ लिएका थिए।
यस्तै पराजित भनिएकाहरूले पनि आरके शर्माको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको थियो।
एनआरएनए अमेरिकाका अध्यक्ष बन्जाडे पनि भेरो भोटिङ प्रणाली प्रयोग गरेर भएको निर्वाचनबाट निर्वाचित भएका हुन्।
समाज टाइम्स संवादमा डा. बन्जाडेले आइसीसीको चुनावमा भेरोको गल्ती देखिएको र त्यसमा छानबिन हुन जरुरी रहेको बताए।
‘आइसीसीको चुनावको छानबिन हुनु पर्छ, भेरोको गल्ती भएको हो, निर्वाचन कमिटीको गल्ती हो। समाज टाइम्स संवादमा डा बन्जाडेले भने, ‘आइसीसीको चुनावमा समस्या देखियो भने एनसीसीको चुनावमा पनि छानबिन हुनु पर्छ।’
उनले भेरोको गल्तीको कारण आफूले चुनाव जितेको देखिए तत्काल डिलु पराजुलीलाई छोडिदिने बताए। गत जुनमा भएको एनसीसी अमेरिकाको निर्वाचनमा बन्जाडेले पराजुलीलाई हराएका थिए।
यसै बिच अध्यक्ष बन्जाडेले आइसीसीको सबन्धका बारेमा अब पुनर्विचार गर्नु पर्ने समय आएको बताएका छन्।
बन्जाडेले एनआरएनए अमेरिकाले नेपाल सरकार सँग सोझै काम किन नगर्ने, आइसीसी किन चाहियो भन्ने बहस पनि सुरु भएको बताए। आइसीसी सँग सम्बन्धन लिएर अमेरिकालाई के फाइदा भयो, यो झगडामा हामी किन मुछिने भन्नेमा पनि छलफल हुनु पर्ने बताए।