सबै अट्ने एनआरएनए बनाउन शङ्कास्पद निर्वाचन प्रक्रियामा सम्बोधन हुनु पर्छ: सुनिल साह

पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को विवादास्पद निर्वाचनमा उपाध्यक्षका उम्मेदवार सुनिल साहले शङ्कास्पद निर्वाचनका बारेमा सम्बोधन हुनु पर्नेमा जोड दिएका छन्।
अक्टोबर १९ तारिखमा सम्पन्न चुनावको नतिजा सार्वजनिक गर्ने क्रममा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँ बुथमा शून्य मत देखिए पछि विवाद भएको थियो। त्यस पछि तीन अध्यक्षले अर्को व्यवस्था नभए सम्मका लागि भन्दै सबै प्रक्रिया स्थगन गरेका थिए।
सोही समयमा तीन मध्येका एक अध्यक्ष डा. बद्री केसी समूहले आफूहरू विजेता भएको भन्दै शपथ ग्रहण गरेका थिए।
यस्तै अध्यक्षमा पराजित आरके शर्मा महासचिवमा पराजित बुद्धि सागर सुवेदी समूहले समानान्तर समिति बनाएका थिए। त्रुटिपूर्ण नतिजामा अध्यक्षमा डा केसी पहिलो, शर्मा दोस्रो र महेश श्रेष्ठलाई तेस्रो देखाइएको थियो।
एनआरएनको निर्वाचनमा अस्ट्रेलियाको भेरो नामक कम्पनीको प्रयोग गरिएको थियो। भेरोको नतिजामा पराजित देखिएका साहले आफ्नो कर्मभूमि अमेरिका फर्किए पछि बुधवार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाको छानबिनको माग गरेका हुन्।
साहलाई आरके शर्मा समूहको उपाध्यक्षमा राखिएको छ। साहले विज्ञप्तिमा सो पद स्वीकार नगरेको संकेत घुमाउरो पारामा गरेका छन्। साहले सोझै सो कुरा उल्लेख गरेका छैनन तर विज्ञप्तीमा कुनै पद पनि उल्लेख गरेका छैनन्।
‘निर्वाचन प्रक्रियासँग जोडिएर उठेका प्रश्नलाई सम्बोधन गरी सबै एक ठाउँमा उभिएर एनआरएनएलाई संस्थागत हिसाबबाट बलियो बनाई अगाडि बढाउन समेत सबैमा आग्रह गर्दछु ।’ साहले विज्ञप्तिमा भनेका छन्।
एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा आइसीसीका निवर्तमान कोषाध्यक्ष साहले निर्वाचन प्रक्रिया सही ढङ्गले भएको छैन भनेर शङ्का गर्ने प्रशस्त ठाउँहरू भएको समेत दाबी गरेका छन्। उनले त्यसलाई सम्बोधन गर्न आग्रह गरेका छन्।
‘निर्वाचन प्रक्रियासँग उठेका तमाम प्रश्नलाई सम्बोधन गरौँ, छानबिन गरी वस्तु स्थितिलाई बाहिर ल्याऊ भन्ने तर्फ नै मेरो जोड रहेको छ।’ साहले अगाडि भनेका छन्, ‘तर त्यसलाई कुल्चिएर जुन डङ्गबाट सम्मेलनलाई अगाडि बढाउने कार्य भयो त्यसको प्रतिक्रियाको रूपमा अर्को समानान्तर समिति बन्न पुगेको यथार्थतालाई सबैले मनन गर्नुपर्दछ।’
उनले समान्तर कमिटी र निषेधको राजनीतिको पनि विरोध गरेका छन्। ‘संस्थाको विकल्प अर्को संस्था होइन भने निषेध वा पेलेर जान खोज्ने प्रवृत्तिले हाम्रो शक्तिलाई क्षयीकरण मात्र गर्छ यस पक्षलाई गम्भीरता पूर्वक लिन र छलफलको माध्यमबाट समस्याको समाधान गर्न म सम्बन्धित सबैमा अपिल गर्दछु ।’ साहले भनेका छन्।
सबै समेटिने र सबै अट्ने एनआरएनए बनाउने अभियानमा आफ्नो सक्रियता रहने पनि साहले बताएका छन्।
‘सबै एनआरएनएका साथीहरूलाई सबै कुरालाई बिर्सिएर नयाँ शिराबाट अघि बढ्नका लागि आग्रह गर्दछु ।’ साहले भनेका छन्,
साहको विज्ञप्तिको पूर्ण पाठ
विश्वभर रहनुभएका समस्त गैर आवासीय नेपालीमा नमस्कार ।
आम गैर आवासीय नेपाली संघको ११ औँ सम्मेलनमा मेरो उपाध्यक्ष पदको उम्मेदवारीलाई साथ, समर्थन र सहयोग स्वरूप सम्मेलन स्थलमा भौतिक रूपमा उपस्थित भई मतदान गर्नुहुने र अनलाइन माध्यमबाट मत प्रकट गर्ने सबै प्रतिनिधिहरूप्रति मेरो उच्च सम्मान व्यक्त गर्दै आफ्नो अमूल्य मत दिनुहुने सबै मतदाता प्रतिनिधिहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।
नेपालको काठमाण्डौंमा भएको सम्मेलन स्थलमा आई मेरो उम्मेदवारीलाई बल प्रदान गर्ने र मतदान अवधिभर स्वयंसेवी रूपमा सहयोग गर्ने सबै सबैमा हार्दिक धन्यवाद छ ।प्रजातान्त्रिक विधि र पद्धतिमा विश्वास राख्ने मैले स्वच्छ, निष्पक्ष, पारदर्शी र शङ्कारहित ढङ्गबाट भएको निर्वाचनमा प्राप्त जनमतलाई सदैव स्वीकार गर्दै आएको छु । अझ एनआरएनए संस्था केवल कुनै संघ मात्र नभएर अभियान भएकाले मतले मात्र अभियानमा लागिरहने बल पुग्ने वा रोक्ने भन्ने हुँदैन ।
पदमा नरहँदा पनि एनआरएन अभियानमा लाग्दै आएको मैले एनआरएनएलाई एनआरएनको मुद्दा उठाउने साझा थलो र सामाजिक अभियानको रूपमा लिई विभिन्न समयमा एनआरएनए, एनसीसी , युएसए हुँदै एनआरएनए, आईसीसीमा प्राप्त पदीय जिम्मेवारीलाई न्याय पनि गर्दै आएको छु भन्ने लाग्छ ।
विषम परिस्थितिका बिच १० औँ सम्मेलनबाट प्राप्त एनआरएनए, आईसिसीको कोषाध्यक्षको जिम्मेवारीलाई पनि मैले चुनौती भन्दा अवसरको रूपमा लिएर कोषाध्यक्षको रूपमा संस्थामा आर्थिक पारदर्शिता र दरिलो आर्थिक अवस्था निर्माणका लागि अन्य २ कोषाध्यक्षसँग मिलेर काम गरे, जुन यहाँहरूलाई थाहा नै छ ।
तत्पश्चात्,संघको ११ औँ सम्मेलनमा म उपाध्यक्ष पदमा उम्मेदवार बने, यहाँहरूले मैले चुनावी अभियान थाल्दा देखि नै गर्नुभएको साथ, समर्थन, सहयोग र सद्भावले मलाई अगाडि बढ्न प्रेरणा दियो । तर मत परिणाम घोषणाले मलाई पदमा रहेर योगदान गर्ने अवस्था देखायो, म आफू अभियानमा हिँड्दा र तपाईँहरूले देखाउनु भएको साथ र सहयोग अनि मेरो आफ्नै विश्लेषण भन्दा फरक मत आएको मैले अनुभूति गरे र पनि मैले जनमत नै यी रहेछ भनी यसलाई सामान्य रूपमा लिएको थिए । तर विडम्बना हामी एनआरएन हरूले पारदर्शी र विश्वासिलो तरिकाबाट चुनाव हुनुपर्छ भनेर सन्देश दिनुको साटो त्यस विपरीत निर्वाचन प्रक्रियासँग जोडिएर धेरै विषयहरू बाहिर आएका छन्, निर्वाचन प्रक्रिया सही ढङ्गले भएको छैन भनेर शङ्का गर्ने प्रशस्त ठाउँहरू छन् । त्यसलाई सम्बोधन गर्नु हामी सबैको साझा दायित्व हो ।
निर्वाचन प्रक्रियासँग उठेका तमाम प्रश्नलाई सम्बोधन गरौँ, छानबिन गरी वस्तु स्थितिलाई बाहिर ल्याऊ भन्ने तर्फ नै मेरो जोड रहेको छ, तर त्यसलाई कुल्चिएर जुन ढङ्गबाट सम्मेलनलाई अगाडि बढाउने कार्य भयो त्यसको प्रतिक्रियाको रूपमा अर्को समानान्तर समिति बन्न पुगेको यथार्थतालाई सबैले मनन गर्नुपर्दछ ।संस्थाको विकल्प अर्को संस्था होइन भने निषेध वा पेलेर जान खोज्ने प्रवृत्तिले हाम्रो शक्तिलाई क्षयीकरण मात्र गर्छ यस पक्षलाई गम्भीरता पूर्वक लिन र छलफलको माध्यमबाट समस्याको समाधान गर्न म सम्बन्धित सबैमा अपिल गर्दछु ।निर्वाचन प्रक्रियासँग जोडिएर उठेका प्रश्नलाई सम्बोधन गरी सबै एक ठाउँमा उभिएर एनआरएनएलाई संस्थागत हिसाबबाट बलियो बनाई अगाडि बढाउन समेत सबैमा आग्रह गर्दछु ।
हतारिएर वा जबरजस्त ढङ्गले एकले अर्कोलाई सिद्ध्याउने खेलमा हामी लाग्नु बुद्धिमानी कदम हुन सक्दैन, आफ्ना थप कदमहरू स्थगन गर्दै जुन विन्दु वाट समस्या आएको त्यही विन्दुमा पुगी समाधान खोज्नु हामीको सबैको साझा जिम्मेवारी हो । यसका लागि हामी सबै लचक बनौँ ।हामी कोही व्यक्ति विजयी वा उप विजयी भन्दा धेरै माथि एनआरएन अभियान हो , एनआरएनए संस्था हो ।
अभियानमा लाग्नेहरूले इगो वा व्यक्तिगत प्रतिष्ठाको विषय बनाउनु हुँदैन, म आफू अभियानमा बढी विश्वास गर्छु , पद भन्दा धेरै माथि अभियान छ, यो अभियानलाई कमजोर हुन नदिन हामी सबै एकत्रित ढङ्गबाट अघि बढ्नुपर्छ । हाम्रा गतिविधि साझा र एकताबद्ध ढङ्गबाट हुनुपर्छ । यही पक्षलाई जोड दिदैं मैले मेरो भूमिका र उपस्थितिलाई अगाडि लैजाने निर्णय लिएको छु । सबै समेटिने र सबै अट्ने एनआरएनए बनाउने अभियानमा मेरो सक्रियता रहनेछ ।
सबै एनआरएनएका साथीहरूलाई सबै कुरालाई बिर्सिएर नयाँ शिराबाट अघि बढ्नका लागि आग्रह गर्दछु । भएको सहमति विपरीत सम्मेलनको प्रक्रिया अघि बढाउँदा उत्पन्न परिस्थितिका कारण समानान्तर समिति बनेको तथ्यलाई समेत बिर्सनुहुँदैन । यसर्थ हामीले अहिले को ठुलो वा सानो भन्ने भन्दा पनि निर्वाचन प्रक्रियासँग जोडिएर आएको विषयलाई छानबिन गरी सही सत्य तथ्य बाहिर ल्याएर मात्र गतिविधि गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछु र सँगसँगै समानान्तर समितिलाई पनि धैर्य राख्दै छलफलको माध्यमबाट उत्पन्न परिस्थितिको निकास खोज्न आग्रह गर्दछु । यसलाई टुङ्गोमा पुर्याउने कार्य नहुँदा सम्म जो कसैले पनि अनावश्यक र संस्थाको हित विपरीतका कार्य नगर्न पनि सबैमा अनुरोध गर्दछु ।
११ औँ सम्मेलन मात्र होइन १०औँ सम्मेलनका क्रममा बाहिरिनु भएका अभियन्ताहरूलाई समेत समेटौँ । अन्त्यमा, ११ औँ सम्मेलन जसरी सफल हुनु पर्थ्यो र हामीलाई प्राप्त जिम्मेवारीमा रहेर प्रतिनिधिहरूसँग हामीले साक्षात्कार गरेर सुझाव लिने अवस्था बन्नुपर्थ्यौं त्यो हुन नसके पनि कोषाध्यक्षको जिम्मेवारी पूरा गर्ने क्रममा प्राप्त सहयोग प्रति सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।शुभ विजयादशमीको नेपालमा रहनुभएका नेपाली र नेपाल बाहिर रहनुभएका आम गैर आवासीय नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय एनआरएनए ।
भवदीय,
सुनील साह
टेक्सस, अमेरिका