पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

इस्लामावाद । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ ।
गत वर्ष सत्ताबाट हटाइएपछि उनी कानूनी झमेलमा पर्दै आएका छन् । उनले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि आरोप लगाइएको बताएका छन् ।
लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उनको सजाय उल्टियो त्यसपछि उनलाई राज्यका कागाजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो ।
“उहाँलाई आज दोषी ठहर गरिएको छ र आरोपलाई खुलारूपमा पढिएको छ”, पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) का शाह खावरले पूर्वप्रधानमन्त्री खानलाई राखिएको अदियाला जेलबाहिर भने ।
एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ । अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दावीको खण्डन गरेका छन् ।
खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा दोषी ठहर गरिएको छ ।