एनआरएन नागरिकता वितरण मंगलबारदेखि

काठमाडौं । गैर आवासीय नेपाली नागरिकता वितरण मंगलबारदेखि सुरु हुने भएको छ । मंगलबारदेखि नै काठमाडौंमा गैर आवासीय नेपाल संघ एनआरएनको ११ औं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन शुरु हुँदै छ ।
विहान ९ बजे होटेल सोल्टीमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा विहान सात बजे प्रधानमन्त्रीले गैर आवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सन् २००३ मा स्थापना भएको गैर आवासीय नेपाली संघले लामोसमयदेखि नागरिकताको विषय उठाउँदै आएको थियो ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट दुई दुई पटक पारित भएको नेपाल नागरिकता ऐन प्रमाणीकरण नगरे पछि शीतल निवासमा थन्किएको थियो । वर्तमान राष्ट्रपति पौडेल निर्वाचित भएर आए पछि गत जेठ १७ गते उक्त विधेयक प्रमाणीकरण गरेका थिए ।
उक्त विधेयकका विषयमा सर्वोच्च अदालतमा मुद्दा परे पछि कार्यान्वयनमा रोक लागेको थियो । पछि सर्वोच्च अदालतले कार्यान्वयनको बाटो खुला गरेपछि नियमावली बन्न ढिलाई हुँदा एनआरएन नागरिकता वितरणको कार्य सुरु गर्न सकिएको थियो ।
अहिले नियमावली पनि जारी भइसकेको र एनआरएन सम्मेलनकै दिन नागरिकता वितरणको सुरुआत गर्न लागिएको हो ।