संस्थागत विकास र एकताबद्ध एनआरएनएका लागि उपाध्यक्षमा मेरो उम्मेदवारी : सुनील साह

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष एवम आइसीसी कोषाध्यक्ष रहेका सुनील साहले २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनको सचिवालयमा रहेको निर्वाचन समितिमा उनले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
एनआरएनएमा समावेशी मुद्दा पेचिलो बनिरहेको बेला साहले उम्मेदवारी दर्ता गराउँदै संघलाई समावेशी सिद्धान्त अनुसार नै अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
‘मेरो प्रष्ट उद्देश्य भनेको विश्वभरका नेपालीहरुलाई कुनै न कुनै माध्यमबाट नेपालसँग जोड्ने हो र नेपालको विकासका लागि सहकार्य गर्ने उद्देश्यले एनआरएनए जस्तो पवित्र संस्थामार्फत योगदान नि चाहेको हुँ,’ उनले भने ।
कोषाध्यक्षको जिम्मेवारीमा रहँदा आर्थिक पारदर्शीतालमई प्राथमिकतमा राख्दै संघको सम्मूर्ण आर्थिक गतिविधि प्रत्येक महिना सार्वजनिक गर्ने परिपाटीको विकास गरेर संघलाई मितव्ययी बनाउन आफूले ठूलो भूमिका खेलेकाले यसपटक उपाध्यक्षमा आफूलाई धेरैले मत दिने विश्वास व्यक्त गरे । यसैगरी एनआरएनमा समावेशीताको कुरा अझै अपुग भएको बताउँदै देशको संविधान अनुसार संस्थालाई थप समावेशी बनाउँदै लैजान आफूले भूमिका निर्वाह गर्ने पनि बताए ।
जनकपुरमा जन्मिएका साह पेसाले इन्जिनियर हुन् । एनआरएनए अमेरिकामा २०१५–१७ मा सल्लाहकार, सन् २०१७ मा बरिष्ठ उपाध्यक्ष हुँदै २०१९ देखि २०२१ कार्यकालमा एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा निर्वाचित भएका उनी २०२१ देखि केन्द्रीय कोषाध्यक्ष पद सम्हालिरहेका छन् ।