विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित
अहमदाबाद । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य भारतले ३०.३ ओभरमा मात्रै ३ विकेट गुमाएर पूरा गरेको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले ८६ रन बनाए ।श्रीयस अय्यरले नटआउट ५३ रन बनाउँदा केएल राहुलले १९ रनको नटआउट पारि खेले । विराट कोहली र शुभमना गिल १६-१६ रन बनाएर पभेलियन फर्किए ।
पाकिस्तानका शहेन साह अफ्रिदीले २ विकेट लिँदा हसन अलिले १ विकेट हात पारे ।
यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाए ।
यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । एक सय ५५ रन बनाउँदासम्म पाकिस्तानको दुई विकेट मात्रै गुमेको थियो । बाँकी ३६ रन बनाउँदा उसका सबै खेलाडी आउट भए । भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिए । यो विश्वकपमा भारतले तीन खेल खेलेकाेमा सबैमा जित निकालेकाे छ भने पाकिस्तानले भने दुई खेलमा जित र एक खेलमा पराजय भाेगेकाे छ ।
भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा आजसम्म ८ खेल भएकोमा सबै खेल भारतले जितेको छ । तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा मात्रै विजयी भएको छ ।















