अमेरिकामा सम्पन्न दसैँ कप भलिबलको उपाधि सजानी क्लबलाई
डालस, टेक्सस। टेक्ससको डालसमा सम्पन्न दसैँ कप भलिबलको उपाधि सजानी क्लबले जितेको छ। शनिवार भएको फाइनलमा गोर्खा ए क्लबलाई तीन शून्यको सोझो सेटमा हराउँदै सजानीले उपाधि जितेको हो।
डालस फोर्ट वर्थबासी भलिबल खेलाडीहरुको क्लब नेपस्टार डिएफ़डब्लु भलिबल क्लबले वडा दशैको अवसर पारेर प्रतियोगिताको आयोजना गरेको हो। नेपस्टारले दसैँमा भलिबल प्रतियोगिता आयोजना गर्न थालेको यो पाँच संस्करण हो ।
यस पटकको प्रतियोगितामा नौ टिमले भाग लिएका थिए। प्रतियोगिताको सेमिफाइनलमा सजानीले रुकुमलाई हराएको थियो। यस्तै गोर्खा ए टिमले गोर्खा बी टिमलाई हराएको थियो।
विजेता टिमले १५ सय अमेरिकी डलर प्राप्त गर्यो दोस्रो भएको टिमले आठ सयमा चित्त बुझायो।
विजेता तथा उप विजेता टिमलाई आइतबार युलेस स्थित बियर क्रिक पार्कमा आयोजना भएको पिकनिकमा पुरस्कार वितरण गरिएको थियो।

युलेस सिटीका काउन्सिल सदस्य टिका पौडेलले खेलाडीलाई पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए। सो अवसरमा काउन्सिल सदस्य पौडेलले खेलले अनुशासन र अनुशासनले समाजको स्वास्थ्य राम्रो हुने हुँदा नेपस्टारको काममा आफू सधैँ अग्रपङ्क्तिमा रहेर सहयोग गर्ने वचनबद्धता व्यक्त गरे।
पिकनिक स्थलमै प्रायोजकहरूलाई सम्मान पत्र तथा स्वयमसेवीहरुलाई प्रमाणपत्र प्रदान गर्दै भविष्यमा अझै राम्रो गर्न प्रेरित हुन हौसला प्रदान गरिएको थियो। उक्त अवसरमा बिङ्गो खेल खेलाइनुको साथै साना नानीहरूले दसैँ र नेपाली राष्ट्रियता झल्काउने गीतहरूमा नृत्य समेत प्रस्तुत गरेका थिए।
त्यस्तै समाजसेवी हरि थापाको बाजा समूहले पन्चे बाजा प्रस्तुत गरेका थिए भने उक्त पन्चे बाजामा सहभागी खेलाडी तथा स्थानीय नेपाली समुदायका सदस्यहरू उत्साहपूर्वक नृत्य गरेका थिए।
उक्त अवसरमा प्रायोजक, स्वयंसेवक, स्थानीय समाजसेवी, मिडिया पार्टनर तथा खेलाडीहरूलाई सम्मान गरिएको थियो। आफ्नो बलबुताले भ्याएसम्म काम गरेको र केही त्रुटि भएमा आगामी वर्ष सच्याउने प्रतिबद्धता आयोजकको तर्फबाट अध्यक्ष भुवन सिंह आलेले जनाएका थिए।
कार्यक्रममा बोल्दै नेपस्टार डिएफ़डब्लु भलिबल क्लबका सचिव सहकुल खत्री प्रतियोगिता सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै सहयोगी र सहभागीहरूलाई धन्यवाद प्रदान गरेका थिए। त्यस्तै संस्थाका संस्थापक अध्यक्ष नारायण क्षत्रीले खेलाडीले सभ्य समाज निर्माणमा योगदान दिने भएकोले यस्ता कार्यक्रमको आयोजनाले खेलाडीको मनोबल उच्च हुने धारणा व्यक्त गरेका थिए।
पिकनिकको अवसरमा आयोजना भएको समापन कार्यक्रममा भीम थापा, दुर्गेश कार्की, दीपक थापा, कैलाश भट्ट, रमेश बोहोरा लगायतका भलिबल प्रतियोगितामा विशेष योगदान गर्नेहरूलाई सम्मान पनि प्रदान गरिएको थियो।
सोही अवसरमा भलिबल खेल मार्फत समाजमा योगदान पुराए बापत दीपक थापा, कैलाश भट्ट, रमेस बोहोरा र सिपोरा गुरुङलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चार संयोजक दुर्गेश बोगटीले कुशलतापूर्वक गरेका थिए ।















