एनआरएनएको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्दा के के चाहिन्छ ?

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले मनोनयन दर्ताको तालिका प्रकाशित गरेको छ । यसअघि नै निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको निर्वाचन समितिले अक्टोबर १९ तारिखमा हुने निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने मिति र प्रक्रिया सार्वजनिक गरेको हो । यादव प्रसाद ढुंगाना नेतृत्वको निर्वाचन समितिले १२ वुँदामा मनोनयन दर्ताको प्रक्रिया र संगलग्न गर्नुपर्ने कागजातहरुका बारेमा प्रष्ट पारेको छ ।
यसैगरी उम्मेदवारको उम्मेदवारी दर्ताको समय अक्टोबर १२–१४ को समय तोकिएको छ ।
उम्मेदवार भौतिक वा विद्युतीय माध्यमबाट मनोनयन दर्ता गर्न पर्ने छ ।
तर, विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेहरुको हकमा भने प्रस्तावक र समर्थक सहित अनिवार्य उपस्थित भै सनाखत गर्नु पर्ने छ । त्यसका लागि अक्टोबर १६ को मिति तोकिएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशित पनि सोही १६ तारिखमा हुने छ । यस्तै, उम्मेदवारको दावीविरोधको कार्यतालिका १६ तारिखकको साँझ ४ बजेदेखि ८ बजेसम्म रहेको छ ।
उम्मेदवारको दोस्रो नामावली प्रकाशित १७ अक्टोबरमा दिउँसो २ बजे हुने छ । उम्मेदवारको अन्तिम नामावली १७ तारिख राति ८ बजे प्रकाशित हुने छ । सोही दिन राति १२ बजेभित्र निर्वाचन गराउने विद्युतीय कम्पनीलाई सम्पूर्ण नामावली उपलव्ध गराइने छ भने नमूना निर्वाचन १८ तारिखका दिन हुने छ भने मुख्य निर्वाचन मतदान १९ तारिखमा हुने छ ।
काठमाडौंको होटेल सोल्टीमा हुने निर्वाचनका लागि विहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने छ भने नेपाल बाहिर रहेकाहरुले विहान १२ बजेदेखि राति ११ः५९ बजेसम्म मतदान गर्न पाउने छन् ।
निर्वाचन समितिले बनाएको कार्यतालिका अनुसार १ जना अध्यक्ष, ८ जना उपाध्यक्ष (महिला र युवा एक एक जना), महासचिव १ जना, उपमहासचिव २ जनाको व्यवस्था गरेको छ ।
एनआरएनएको निर्वाचन तालिका यस्तो, मनोनयन दर्ता अक्टोबर १२–१४ मा
यसैगरी ७ जना सचिव (एक जना महिला) हुने छन् । कोषाध्यक्ष १ जना हुँदा सहकोषाध्यक्ष भने ४ जना (महिला १ जना) रहने छन् । यसैगरी महिला संयोजक १ जना, युवा संयोजक १ जना रहने छन् । त्यस्तै, क्षेत्री संयोजक ६ जना (प्रत्येक क्षेत्रमा १ जना) हुने छन् । त्यसैगरी क्षेत्रीय उप संयोजक भने १७ जना हुने छन् । जसमा अफ्रिका क्षेत्रबाट २ जना हुँदा अरु क्षेत्रबाट ३ जनाका दरले हुने छन् ।
यस्तै, क्षेत्रीय महिला संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) क्षेत्रीय महिला उप संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) रहने छन् । क्षेत्रीय युवा संयोजक र उप संयोजक पनि ६–६ जना हुने छन् ।
यस्तै, दोस्रो पुस्ताका गैर आवासीय नेपाली संयोजक १ जना रहने छन् । निर्वाचन समितिका अनुसार पदाधिकारीको संख्या ७४ हुने छ ।
