इजरायलमा हमासको आक्रमणमा परि ७ नेपाली घाइते

इजरायल । शनिबार विहानदेखि इजरायलमा विद्रोही समूह हमासले आक्रमण गर्दा अहिलेसम्म झण्डै २ सय जनाको मृत्यु भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो समय नेपालीहरुको आकर्षक रोजगारीको गन्तव्यसमेत रहेको इजरायलमा भएको आक्रमणमा परि केही नेपालीहरु पनि घाइते भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएकी छिन् ।‘नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते भएको उनले बताइन् ।
उनले घाइते नेपालीको नाम काठमाडौंबाट परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्ने जानकारी दिइन् । त्यहाँ ४५ सय नेपाली रहेको र उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
हमासको आक्रमणपछि जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ । यसमा हालसम्म १९८ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने १६ सयभन्दा बढी घाइते भएका छन् । अलजजिराका अनुसारअनुसार १००० भन्दा बढी प्यालेस्टिनी इजरायल प्रवेश गरेका छन् । यो १९४८ पछि पहिलो पटक भएको हो ।
हमासले बिहानै प्रहार गरेको ५ हजार रकेटका कारण हालसम्म ४० इजरायलीको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । गाजा पट्टीबाट भएको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धको घोषणा गरेका थिए । मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनले भनेका थिए–यो युद्ध हो र अवश्य जित्छौं । शत्रुहरूले यसको मूल्य चुकाउनु पर्छ। यसैबीच हमासले इजरायली जनरल निमरोद अलोनीलाई धेरै व्यक्तिसहित बन्धक बनाएको दाबी गरेको छ ।