एसियाली खेलकुद : एथलेटिक्सको पाँच हजारमा पार्कीको व्यक्तिगत समय सुधार
काठमाडौं / चीनमा जारी एसियाली खेलकुदमा एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२।१५ सेकेन्डमा पूरा गरे । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४।२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३ औँ सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए ।
विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११ औँ स्थानमा रहे । २० जनाले नाम दर्ता गराए पनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।
बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७।४० सेकेन्ड समय खर्चे ।
उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६।१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भङ्ग गरेका हुन् । भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१।०९ सेकेन्ड समयसाथ दोस्रो तथा बहराइनका फिकादु अद्मासु दासित १३ मिनेट २५।६३ सेकेन्ड समयसाथ तेस्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् ।








