पार्टीका मन्त्रीलाई फिर्ता बोलाउन महामन्त्री थापाको प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् ।
काठमाडौँमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको सङ्कल्प, उत्साह, एकता र रूपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले, सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्नु पर्ने प्रस्ताव गरेका हुन् ।
अबको अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने भन्दै मन्त्री हरूलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्न प्रस्ताव गरेका हुन् ।
‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ,’ पहिले प्रचण्ड जी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ।’ उनले भने ‘ उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नु भएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔँ, अढाई वर्ष उहाँहरूलाई चलाउन दिऔँ। हामी फ्लोरबाट समर्थन गरौँ।’
उनले अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको भन्दै यसो हेर्दा सरकारमा सबै भए पनि जवाफ दिने बेला कसैले नदिने बताए ।
प्रदेशहरू कामकाजी हुन सकेनन्, सोचेअनुसार काम भएन
महामन्त्री गगन थापाले प्रदेशहरू कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरू निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ ।
‘प्रदेशहरू एकदमै महँगो भइरहेका छन्’ उनले भने, ‘प्रदेशहरू जे सोचेर बनाएका थियौँ, त्यो अनुसार काम भएको छैन ।’
तत्कालीन सभापति सभापति गिरिजाप्रसाद कोइराला भएका बेला पार्टीले बोलाएको पाँच दलको बैठकबाट नेपालमा अब एउटा मात्रै केन्द्र राखेर हुँदैन, प्रदेश बनाउनुपर्छ र प्रदेशलाई अधिकार दिनुपर्छ भनेर २०६१ सालमै सहमति भएको उनले स्मरण गरे ।
‘अहिले हामीले त्यहीअनुसार प्रदेश बनाएका हौँ । तर जे सोचेर बनाएका थियौँ, त्यो अनुसार काम भएको छ छैन’ उनले भने ।
कर्मचारी, प्रहरी जस्ता धेरै विषयमा कानुन बन्न नसकेको उनले बताए । प्रदेश मात्रै भनिएको तर अधिकार नभएको थापाको भनाइ छ । ‘प्रदेशको मुख्यमन्त्रीभन्दा त सिडिओ कति अधिकार सम्पन्न छ । शक्तिशाली छ’ थापाले भने, ‘प्रदेशलाई पङ्गु बनाएर राखिएको छ ।’
महामन्त्री थापाले अगाडि भने, ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्री आउन भएको छ रे, म खोज्दै छु, मुख्यमन्त्रीले सरकार टिकाउनका लागि माओवादीले धेरै दबाब दियो त्यस कारणले प्रदेशमा मन्त्रालय फुटाएर भए पनि थप्नुपर्यो भन्ने कुरा रहेछ । केन्द्रीय समितिको बैठकबाट अस्ति मात्रै निर्णय गरेको होइन हामीले एउटा पनि संरचना थप्न पाइँदैन भनेर ?’















