पुराना दललाई रवि लामिछानेको ठाडो चुनौती
काठमाडौं । सञ्चारकर्मीबाट नेता बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षभित्र राम्रा काम गरेर देखाउन चुनौती दिएका छन् । उनले अन्य दलहरूलाई अबको ४ वर्ष सहकार्य गरेर देशको तमाम समस्या सुल्झाउन पनि आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मिसन ८४ भनेर राजनीतिक दलहरुको भनेको फिटिक्कै नसुहाएको पनि टिप्पणी गरे ।
रवि लामिछानेले फेबुकमा यस्ताे लेखेका छन् ।
सम्पुर्ण पुराना दलहरुलाई अपिल:
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।
तर “मिशन ८४” भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला।
अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।
राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।

















