एनआरएनएमा फेरि प्रतिनिधि विवाद, मतदाता नामावली प्रकाशन भएन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा फेरि प्रतिनिधि विवाद बल्झिएको छ । १० औं अधिवेशनमा पनि डेलिगेट्स (प्रतिनिधि) विवादका कारण ६ महिना ढिला गरी अधिवेशन गर्दा पनि ३–३ जना अध्यक्ष र एकल पदमा पनि बहुव्यक्तिलाई राखेर डेढवर्ष अघि अधिवेशन गरेका थिए ।
तर, ११ औं अधिवेशनबाट कोर्स करेक्सन गर्ने र सवै मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए पनि अक्टोबरमा तय भएको एनआरएनएको ११ औं महाधिवेशन अघि फेरि प्रतिनिधि विवाद बल्झिन थालेपछि चुनावी कार्यतालिका प्रभावित हुने खतरा पनि बढेको छ । एनआरएनएका एक पदाधिकारीले यसअघि अस्ट्रेलिया र अमेरिका लगाएत ६ देशका डेलिगेट्सका विषयमा विवाद रहेको बताएका थिए ।
निर्वाचन कार्यातालिका अनुसार आज नेपालको समय अनुसार दिउँसो २ बजेदेखि ५ बजेभित्र प्रारम्भिक मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको थियो । तर, एनसीसीले पठाएको प्रतिनिधिको सूचीमा आईसीसीले अनावश्यक हस्तक्षेप गरेर व्यक्तिहरु परिवर्तन गर्ने खेल सुरु भए पछि निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्न नसकेको बुझिएको छ ।
एनसीसी अमेरिकाले पठाएका नामावलीमा २ जनाको नाम परिवर्तन भएको बुझिएको छ । एनसीसी अस्ट्रेलियाले पठाएको लिस्टमा रहेका २१ जनाको विषयमा आईसीसीले अनावश्यक बखेडा झिकेको स्रोतले जनाएको छ । एनआरएनएको संस्थापन पक्षका र आसन्न ११ औं अधिवेशनमा उम्मेदवार बन्ने तयारीमा रहेकाहरुले आफू अनुकुलकाे लिस्ट नदेखेपछि अनावश्यक विवाद निकालेका हुन् । उनीहरुले अमेरिका, अस्ट्रेलिया र माल्टा लगाएतका ठाउँमा खेल्न सकिने र आफू अनुकुल प्रतिनिधि ल्याउने प्रयास गरेका छन् । जसका कारण सचिवालयले निर्वाचन समितिलाई नै पेन्डुलम पनि बनाएकाे छ ।
निर्धारित समयमा मतदाता नामावली प्रकाशित गर्न नसकेपछि प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले आइतबार राति ८ बजे (नेपाली समय अनुसार) सूचना प्रकाशित गर्दै संघको सचिवालयबाट प्रारम्भिक मतदाता नामावली प्राविधिक कारणवस उपलव्ध गराउन नसकिएको व्यहोरा पत्राचार गरी जानकारी गराएको हुँदा प्रारम्भिक मतदाता नामावली प्रकाशन र सो सँगै सम्बन्धित कार्यतालिकाको विषयमा यथाशिघ्र अर्को सूचनामा जानकारी गराइने उल्लेख गरेका छन् ।
यसअघि सेप्टेम्बर २० मा प्रकाशित गर्ने भनिएको नामावली पहिला पनि आईसीसी भित्र विवाद हुँदा आज (२४) तारिखलाई सार्वजनिक गर्ने गरी सारिएको थियो । आईसीसी भित्र विवाद बढ्दै जाँदा प्राविधिक कमिटीको बैठक नै बस्ने नसकेको बुझिएको छ । निर्वाचन कार्यतालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने दिन सेप्टेम्बर २९ लाई तोकिएको छ भने मनोनयन दर्ता अक्टोबर १२–१४ सम्मलाई तोकिएको छ । मतदानको समय भने अक्टोबर १९ लाई तोकिएको छ ।