१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन

पेन्सिल्भेनिया । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक उद्घाटन गरिएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच शहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले शनिबार एक समारोहका बीच औपचारिक उद्घाटन भएको घोषणा गरेका थिए ।
चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् । सिरियाका राष्ट्रपति बसर अल असद र अन्य नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका थिए । चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य स्वागत गरे ।
सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएपछि असदले पहिलो पटक चीन भ्रमणमा पुगेका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाक पनि सहभागी भएका थिए भने, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न देशका उच्चपदस्थ व्यक्तित्वको सहभागिता रहेको थियो ।
सन २०१५ सेप्टेम्बर १६ मा चीन एसियाली खेलकुद आयोजनाको लागि छनौट भए पनि कोरोनाका कारण सन् २०२२ सेप्टेम्बर १० देखी २५ सम्म हुने तय भएको प्रतियोगिता एक वर्ष धकेलिएको हो ।
आज औपचारिक सुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ । प्रतियोगितामा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् ।
नेपालबाट २९ खेलमा भाग साढे दुई सय खेलाडी सहभागी छन् । चीनले आयोजना गरेको यो तेस्रो एसियाली खेलकुद हो । यो भन्दा अगाडि बेइजिङमा तथा ग्वान्जाउमा एसियाली खेलकुद आयोजना गरेका थियो ।