चतुर र पारस दुवैलाई सर्वसम्मत हुन नदिने
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचन आज हुँदै छ । काठमाडौंमा जारी केन्द्री अधिवेशनमा नयाँ नेतृत्व चयन हुन लागेको हो । वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले कार्यकाल दोहोर्याउने तयारी गरेका छन् ।
तर, उनलाई सर्वसम्मत हुन नदिने तयारी पनि भएको बुझिएको छ । वर्दियाका प्रतिनिधि विनय भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि चन्दलाई पनि चुनावै लड्नु पर्ने अवस्था देखिएको छ । तर, सबै पदमा सर्वसम्मतको प्रयास भने जारी रहेको बुझिएको छ । यसैगरी उपाध्यक्षमा रोशन सिंहको चर्चा छ भने सचिवमा प्रसान्त मल्ल र पारस खड्काको विचमा चुनावी प्रतिस्पर्धा हुन सक्छ ।
मल्ल यसअघिको कार्यसमितिमा केन्द्रीय सदस्य रहका थिए भने नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस बागमति प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सचिवको प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । १७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक १३ जना सदस्यका लागि भने चुनावै हुने सम्भावना रहेको छ । १३ पदका लागि २० भन्दा बढी केन्द्रीय सदस्यका आंकक्षी रहेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष र सहसचिव पद थप गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर यो भने रोकिने भएको छ ।
साधारणसभाले अनुमोदन गर्ने गरी राखेपले विधान स्वीकृत गर्दा वरिष्ठ उपाध्यक्ष र सहसचिव पद थप गर्न अनुमति दिएको थियो । तर, यस विषयमा आईसीसीमा कुनै जानकारी नगराएकाले भविष्यमा जोखिम निम्तन संक्ने आँकलन गर्दै अहिलेलाई २ पद थप नगर्ने र पछि आइसीसीलाई जानकारी गराएर मात्रै विशेष साधारणसभाबाट अघि बढाउने तयारी गरिएको छ ।
क्यानको निर्वाचन कार्यतालिका अनुसार आज विहान सवा ८ बजेसम्म मतदाता नामावलीमाथि उजुरी र छानविनको काम हुने छ भने अन्तिम नामावली साढे ८ बजे प्रकाशित हुने छ । त्यसैगरी मनोयन दर्ताको समय विहान ८ः ४० सम्मलाई तोकिएको छ । उम्मेदवारको पहिलो नामावली विहान ११ः२० मा प्रकाशित हुने छ भने दावी विरोध र नाम फिर्ताको समय विहान ११ः५५ बजेसम्मको समय दिइएको छ ।














