शिक्षकहरूले शिक्षामन्त्रीसँग होइन, गृहमन्त्रीसँग वार्ता गर्ने
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएको छ ।
गृहमन्त्री श्रेष्ठले आन्दोलनरत शिक्षकहरूसँग आज एक चरणमा वार्ता भने गरेका थिए । त्यति बेला अनौपचारिक तरिकाले वार्ता गरे पनि पछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकसँगको वार्ताका लागि श्रेष्ठलाई नै जिम्मा दिएको बताए । आन्दोलनरत शिक्षकहरू कार्यवाहक प्रधानमन्त्री खड्कालाई भेट्न पार्टी कार्यालय सानेपा पुगेका थिए ।
नेपाली काँग्रेसका उपसभापतिसमेत रहेका कार्यबहाक प्रधानमन्त्री खड्कासँगको भेटमा शिक्षकहरूले शिक्षामन्त्री अशोक राईसँग वार्ता नगर्ने अडान राखेका थिए । फलस्वरूप कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकहरूसँगको वार्ताका लागि गृहमन्त्री श्रेष्ठलाई जिम्मा दिएको जानकारी दिए ।
सरकारले सदनमा पेस गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलित भएका छन् । शिक्षक महासङ्घको अगुवाइमा बुधवारदेखि काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।
शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा सरकारी विद्यालयहरू ठप्प भएका छन् भने उपत्यकाको ट्राफिक व्यवस्था पनि अस्तव्यस्त भएको छ ।














