एनआरएनए अमेरिका न्यु जर्सी च्याप्टरद्वारा लम्साल समूहलाई वैधता !
न्यु जर्सी/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत न्यु जर्सी च्याप्टरले सूर्य लम्साल अध्यक्ष रहेको समितिलाई औपचारिक कार्यक्रममा सम्बोधन गरेको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को अघिल्लो महाधिवेशनको समयमा डेलिगेट (प्रतिनिधि) छनौटका विषयमा विवाद हुँदा एउटै नाममा समानान्तर दुई संस्था अस्थित्वमा रहेका छन्। आइसीसी देखी एनसीसी सम्म एकले अर्कोको अस्थित्व स्वीकार नगर्दा पटक पटकको एकता वार्ता विफल भएको छ।
विवादका कारण दुई ठाउँमा महाधिवेशन हुँदा संस्थापन पक्षले तीन तीन अध्यक्ष सहितको जम्बो टिम बनाएको थियो। सो समितिमा डा. बद्री केसी, रवीना थापा र कुल आचार्य अध्यक्ष भएका थिए।
यस्तै पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको समर्थनमा अर्को समूहले विनोद कुँवरको अध्यक्षमा छुट्टै समिति गठन गरेको थियो।
अमेरिकामा पनि संस्थापन पक्ष र कुँवर पक्ष सँग सम्बन्धन प्राप्त गरी एनआरएनए अमेरिका नाममा दुई वटा अस्थित्वमा छन्।
संस्थापन पक्षबाट डा. अर्जुन बन्जाडे र कुँवर पक्षबाट सूर्य लम्साल अध्यक्ष छन्।
१५ हजार भन्दा बढी सदस्य रहेको डा. बन्जाडे अध्यक्ष रहेको एनआरएनमा २९ वटा च्याप्टर छन्। एक हजार पनि सदस्य पुर्याउन नसकेको लम्साल समितिले अहिले सम्म च्याप्टर गठन गर्न सकेको छैन।
यसै बिच बन्जाडे समितिमा आबद्ध रहेको न्यु जर्सी च्याप्टरले लम्साल एनआरएनएलाई वैधानिकता दिएको छ।
सेप्टेम्बर १० तारिख आइतबार पुरानो समितिको बिदाइ तथा नयाँ समितिको शपथ कार्यक्रममा न्यु जर्सी च्याप्टरले लम्साल समितिका पदाधिकारीलाई वैधानिकता दिइएको हो।
कार्यक्रममा लम्साल समूहका यदु बञ्जारालाई महासचिवको हैसियतमा आसन ग्रहण र मन्तव्य दिन लगाइएको थियो। सोही कार्यक्रममा दीपक सापकोटालाई सचिवकै हैसियतमा आसन ग्रहण र मन्तव्य दिन लगाइएको थियो।
सापकोटा संस्थापन पक्षका सचिव हुन्। संस्थापन पक्षको महासचिव रामहरि अधिकारी हुन्। बन्जारा सूर्य लम्साल समुहका नवनिर्वाचित महासचिव हुन्। उनी केही अगाडि सम्म सस्थापन पक्षमा थिए।
तपाईँको संस्थाको महासचिव को हो भन्ने समाज टाइम्सको प्रश्नमा सापकोटाले च्याप्टरको कार्यक्रममा गम्भीर त्रुटि भएको स्वीकार गरे।
‘मैले बोली सके पछि उहाँ आउनु भएको रहेछ, म जरुरी फोन आएर एक छिन बाहिर निस्किएको समयमा उहाँलाई आसन ग्रहण र मन्तव्यको लागि पनि समय दिइए छ।’ सापकोटाले भने, ‘यो सरासर गलत भयो कार्यक्रम पछि मैले उपाध्यक्ष प्रेम खड्का सँग कुरा गरे।’
‘पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक खगेन्द्र जिसी, पूर्व प्रमुख निर्वाचन आयुक्त विश्व बराल, निवर्तमान क्षेत्रीय संयोजक तथा प्रस्तावित सल्लाहकार समरबहादुर बुढाथोकी भएको ठाउँमा यस्तो गल्ती गर्न नहुने हो।’ सापकोटाले भने।
‘प्रमुख अतिथि पनि उहाँहरूले जिसी जीलाई बनाउन खोज्नु भएको रहेछ। मैले आइसीसीको उपाध्यक्ष हुँदा हुँदै अरूलाई बनाउन मिल्दैन भने पछि विष्णु माया परिवारलाई बनाइयो तर यो समानान्तर संस्थाका पदाधिकारीलाई मञ्चमा बोलाइएको बारेमा मलाई पूर्व जानकारी नै दिइएन।’ उनले भने।
न्यु जर्सी च्याप्टरका नवनिर्वाचन सभापति भक्त गुरुङले घटनाबारे आफै आश्चर्य व्यक्त गरे।
‘पेन्सिल्भेनिया च्याप्टरको कार्यक्रममा उहाँलाई भेट भएको हो, ल हाम्रो पनि आउन पर्छ भनेको थिए।
उहाँलाई छिमेकी राज्यको साथी, सामाजिक कार्यकर्ता भनेर निम्तो पठाएको थिए।’ गुरुङले भने,’म त भर्खर मात्र च्याप्टरमा आएको भित्री राजनीति थाहै छैन।’
गुरुङले सुरुमा आफूले सामाजिक अभियन्ता भनेर निम्तो पठाएको तर पछि बन्जाराले म महासचिव भए नयाँ पत्र पठाउनु भने पछि नयाँ पत्र पठाएको भने स्वीकारे। ‘अहिले मलाई रियलाइज भयो त्यसो गर्न हुँदैन थियो भन्ने।’
‘हामीले त्यो हिसाबले बोलाएको थिएन, उहाँ आउनु भयो, कार्यक्रम सञ्चालक कृष्ण सुवेदीले बोलाइ हाल्नु भयो उहाँ यस अगाडिको न्यु जर्सी कमिटीको सचिव पनि हो, उहाँले नेपाल सरकारले मान्यता दिइसक्यो भन्नु भयो मैले नो भन्ने अवस्था नै आएन।’ गुरुङले भने, ‘विश्व बराल त्यही हुनु हुन्थ्यो।’
निवर्तमान च्याप्टर सभापति सूर्य मोहन तिवारीले बाध्यताजन्य अवस्था भएको प्रतिक्रिया दिए।
‘उहाँ आउनु भयो सबै संस्थाका मान्छेलाई बोल्न दिने क्रममा उहाँको पद बाध्यताले भन्नु परेको हो। ममाबैधानिकता दिएको भन्न मिल्दैन ।’ तिवारीले भने।
उनले आफुहरुले संस्थागत रूपमा नबोलाएको पनि दाबी गरे। ‘हामीले संस्थागत हिसाबले बोलाएको हैन। व्यक्तिगत चिनजानको रूपमा बोलाएको हो। पारिवारिक चिनजान पनि छ। तर पनि उहाँहरूको दर्ता भएको संस्था हो । बोलाउँदा केही प्राविधिक त्रुटि हुन सक्छ।’
कार्यक्रममा नवनिर्वाचित कमिटीलाई पद तथा गोपनीयताको शपथ खुवाएका पूर्व प्रमुख निर्वाचन आयुक्त विश्व बरालले यसलाई मुद्दा बनाउन नपर्ने जवाफ दिए।
‘कुनै संस्थाको मान्छे आउँदा शुभ कामना दिन पाइयो नि’ उनले भने, ‘हामीले माने पनि नमाने पनि दुई संस्था छन्। त्यो सत्य हो। उस्तै नाम भएका संस्था हुन्छ त्यो गर्न पाइँदैन भन्ने हुँदैन। शुभ कामना दिनलाई केही फरक पर्दैन।’
उनले आफ्नो सल्लाहमा त्यस्तो भएको कुरा सत्य नभएको दाबी गरे। ‘खै साथीभाइले के के गरे म अतिथि भएर गएको मैले कहाँबाट त्यस्तो गराउने?’ उनले प्रतिप्रश्न गरे।
बरालले भने, ‘साथीहरूले शुभ कामना दिनुलाई ठुलो कुरा बनाउन भएन मलाइ त्यसमा नमुछी दिनु होला मलाई के कसो हो भन्थे मैले तिमिहरू आफैलाई जे सही लाग्छ त्यही गर्नु भनेको हो। शुभ कामना दिन आएका हुन यसलाई खासै इसु बनाउन पर्दैन।
कार्यक्रममा एनआरएनए आइसीसीकी उपाध्यक्ष विष्णुमाया परियार प्रमुख अतिथि रहेकी थिइन्। यसै गरी आइसीसी सदस्य सञ्जीव श्रेष्ठ, उत्तर पूर्वी क्षेत्रका आसीसी आड छिरिङ शेर्पा, एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष हेमन्त मल्ल, पेन्सिल्भेनिया च्याप्टरका पूर्व अध्यक्ष सुभाष बैठा, न्यु जर्सी च्याप्टरका संस्थापक अध्यक्ष डा. तुलसी महर्जन, जनसम्पर्क समिति पेन्सिल्भेनियाका सभापति डा. केशव भण्डारी लगायतको उपस्थिति रहेको थियो।