एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गर्दै अविश्वासको प्रस्ताव दर्ता
ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४९ सदस्यले हस्ताक्षर गरेका छन् ।
उनीहरूले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव हस्तान्तरण गरेका हुन् । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए ।
पूर्व महासचिवसमेत रहेका तुलाधरले अवैधानिकरुपमा आयोजना गर्न लागिएको विशेष साधारण सभा रोक्ने मागलाई बेवास्ता गरिएका कारण विधान अनुसार अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।