जातीय द्वन्द्व षड्यन्त्र सफल हुन दिँदैनौँ : गृह मन्त्री श्रेष्ठ
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
सोमबार ललितपुरमा ज्यापु समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले, जाति र भाषाको नाममा समुदायबिच द्वन्द्व उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको भन्दै नेपालीहरूबिचको सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर पार्ने कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताए ।
उनले भने, ‘जातीय भाषिक समुदायको बिच धार्मिक समुदायको बिच द्वन्द्व, सङ्घर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ । जो अनजानमा त्यस्तो काममा सामेल हुनुभएको छ । उहाँहरूले हाम्रो मौलिक पहिचान बुझिदिनुहोला र आफूलाई सच्याउनु होला । जसले नियोजित ढङ्गले यस्तो काम गरेको छ । नेपालीहरूबिच सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर हुन दिने छैनौँ कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौँ ।’
उनले समाजलाई आधुनिकीकरण गर्ने नाममा आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नमिल्ने तर्क गरे । आफ्नो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरी वास्तविक अर्थको विकास र सभ्य समाजको निर्माण हुन नसक्ने उनको भनाई छ ।
उनले भने, ‘हामीले बुझ्नुपर्छ हाम्रो समाजलाई आधुनिकीकरण गर्ने भनेको ,सभ्य समाज बनाउने भनेको, विकसित समाज बनाउने भनेको आफ्नो परम्परा र संस्कृतिलाई बिर्सने होइन । हाम्रो आफ्नो पहिचान छ । लोक संस्कृति छ । त्यो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरीकन वास्तविक अर्थको विकास ,सभ्य समाजको निर्माण हुन सक्दैन ।’








