पूर्व राष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साँझ ५ बजे वीर अस्पताल भर्ना भएका पूर्व राष्ट्रपति डा. राम वरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका विषयमा बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् ।
मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ट (भिआइपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका छन् ।
डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरूले कुनै कमी नगरेको महसुस गरेको बताएका थिए । मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएपछि वीरमा भिआइपी र भिभिआइपी गरी दुई शय्या थप्न लगाएर पाँच शय्या पुर्याएको र भिआइपी र भिभिआइपीको उपचारका लागि वीर सहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकहरूको टिम बनाएकोले उपचारका विषयमा चिन्ता लिनु नपर्ने जानकारी गराएका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र बस्नेतले डा. यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको जानकारी दिए । डा. यादवको उपचारका मुटु रोग विज्ञहरू डा.भगवान कोइराला, डा. रत्नमणि गजुरेल, डा. समीर पौडेल लगायतको टिम संलग्न रहेको डा. बस्नेतले जानकारी दिए । डा.बस्नेतका अनुसार डा. यादवको उच्च रक्तचाप नियन्त्रणमा छैन ।
तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको उनले जानकारी दिए । मन्त्री बस्नेतले डा. यादवको उपचारमा कुनै कमी हुन नदिन न्याम्सका उपकुलपति डा. बस्नेतलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य मन्त्री बस्नेतले वीरमै उपचार गराइरहेका कोसी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र नेपाली काँग्रेस सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था र उपचारका विषयमा जानकारी लिएका छन् । मन्त्री बस्नेत आज मात्र जनसङ्ख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर इजिप्टबाट स्वदेश फर्किएका हुन् ।