सदनमा गगनको प्रश्न : काठमाडौँमा एक्लै हिँड्ने अवस्था छ?

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि दिन दहाडै आक्रमण भएको घटनाले प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता पुष्टि भएको आरोप लगाएका छन् ।
थापाले बिहीबार प्रतिनिधि सभा बैठकमा उनले बुधवार दिउँसो सहमहामन्त्रीमाथि भएको घटनालाई काँग्रेसले गम्भीर रूपमा लिएको भन्दै उनले गृहमन्त्रीले काम गर्ने भन्दा सार्वजनिक खपतका लागि भाषणबाजीमै रमाएको आरोप लगाए ।
उनले भने, ‘के अब हामीले काठमाडौँमा एक्लै हिँड्न पनि नहुने भएको हो ? कोही जलाइदिन्छु भन्छन् कोही खुकुरी हान्छन् । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’
त्यस्तै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा गैर जिम्मेवार रूपमा बोल्दै हिँड्ने गरेको भन्दै बोल्ने भन्दा काम गरेर देखाउन सुझाए ।
उनले भने, ‘म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँ ठाउँमा बोल्दै हिँडेको सुनिरहेको छु । यसलाई छाडिने छैन,यस्तो गरिने छैन । म आग्रह गर्छु धेरै बोल्ने होइन काम गर्ने हो । हामी परिणाममा हेर्न हेर्न चाहन्छौ ।’ उनले थपे ‘काठमाडौँमा संविधान सभाको सदस्य भएको व्यक्ति एउटा सार्वजनिक कार्यक्रमबाट फर्किदा उ सुरक्षित छैन भने प्रधानमन्त्री गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’
त्यस्तै उनले उक्त विषय यादवको मात्रै नभएको र नेपाली समाजमा हिंसात्मक घटना र अराजकतालाई स्थान दिन खोजेको भन्दै त्यसलाई सामान्य रूपमा लिन नहुने बताए ।
‘अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दै छ र कुनै न कुनै माध्यमबाट जसरी हामी यसलाई वैध वा जायज ठहर्याउने कोसिस गर्दै छौ यसको ठुलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसको बारेमा हामी सबै सचेत हुनुपर्छ ।’ गगनले भने ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमालेले पनि यादवमाथिको घटनामा सरकारको जवाफ माग गरेको छ । एमाले सचेतक महेश बर्तौलाले उक्त घटनालाई गम्भीर रूपमा लिनुपर्ने र सरकारले सदनमा जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘जुन प्रकारको जे परिस्थिति बन्यो सरकारले गम्भीरताका साथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ ।’