नेपालमा बाँकी रहेका भुटानी शरणार्थी पुनर्स्थापनाका लागि पहल गर्न अमेरिकी सिनेटर सँग बीसीएचको आग्रह

ह्यारिसबर्ग,पेन्सिल्भेनिया / आफ्नो समुदायको समस्याहरूको सम्बोधनका लागि भुटानी कम्युनीटी ह्यारिसबर्ग (बीसीएच) का अगुवा अमेरिकी सिनेटरको कार्यालय पुगेका छन्।
बीसीएचका अध्यक्ष तिलक निरौलाको नेतृत्वमा रहेको टोलीले मंगलवार अमेरिकी सिनेटर बब केसीको ह्यारिसबर्ग स्थित कार्यालयका अधिकारीलाई भेटी आफ्ना समस्या अवगत गराउँदै त्यसको समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
बीसीएच अध्यक्ष निरौलाका अनुसार उनीहरूले मुख्य रूपमा चार बुँदामा आफ्ना समस्या प्रस्तुत गरेका थिए।
नेपालमा छुटेका भुटानी शरणार्थीहरूको व्यवस्थापन उनीहरूको पहिलो माग थियो। ‘अझै पनि हजारौँ नेपाली भाषी भुटानीहरू नेपालको शरणार्थी शिविरमा कष्टकर जीवन बिताउँदै आएका छन्, उनीहरूको पुरस्थापनाको लागि पहल गरिदिन हामीले आग्रह गर्यौ।’ समाज टाइम्स सँग निरौलाले भने।
यस्तै गरी अमेरिकामा रहेका नेपाली भाषी भुटानीलाई भुटानमा रहेका आफन्त सँग भेटघाटको व्यवस्था मिलाउन पनि उनीहरूले आग्रह गरेका छन्।
‘बीसीएचकै एक पूर्व पदाधिकारीको बा आमा भुटानमा हुनु हुन्छ। ४० वर्ष भयो उहाँहरूको भेटघाट नभएको यस्तो अवस्था भएका धेरै छन्। परिवार पुनर्मिलनका लागि अमेरिकाले पहल गरिदिनु पर्यो भनेर हामीले आग्रह गर्यौ।’ निरौलाले भने,’त्यत्रो तानाशाह उत्तर कोरियाको शासकले त आफ्ना जनतालाई दक्षिण कोरियामा रहेका आफन्त सँग भेला भेला भेटघाट गर्न दिन्छ हामी अमेरिकी नागरिक भइसकेको पछि पनि किन परिवार भेट्न नपाउने भनेर हामीले कुरा राख्यौ।’
यस्तै भुटानको जेलमा रहेका नेपाली भाषीको रिहाइका लागि पनि पहल गरिदिन आग्रह गरिएको निरौलाले बताए।

भेटमा सिनेटर कार्यालयका राज्य निर्देशक टेरेसा डेनिस, संविधान सेवा निर्देशक लिन्डसे मार्टिन, उप निर्देशक क्रिस्टन हरफिल्ड, दक्षिण मध्य पेन्सिल्भेनियाका क्षेत्रीय प्रबन्धक बेन मार्टिन थिए।
‘उहाँहरूले हाम्रो कुरा राम्रो सँग सुन्नु भयो, वैधानिक रूपमा नै सिनेटर समक्ष पुर्याउछौ भन्नु भएको छ।’ भेट पछि समाज टाइम्स सँग निरौलाले भने।
भेटमा पेन्सिल्भेनियामा नेपाली र नेपाली भाषी भुटानी समुदायको संख्या बढ्दै गएकोले भोटर रजिस्ट्रेसनको चेतना पुर्याउन र नेपाली समुदायका लागि साझा सामुदायिक भवनका लागि पहल गरिदिन पनि आग्रह गरिएको निरौलाले बताए।
फोटो सौजन्य : भुटानी कम्युनीटी ह्यारिसबर्ग