पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्छ

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई सक्रिय राजनीतिमा आए एमालेले स्वागत गर्ने बताएका छन् ।
मङ्गलवार प्रतिनिधिसभाको बैठकपछि सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै उनले भण्डारी नेकपाको पूर्व नेत्री भएकाले फेरी सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका हुन् ।
उनले भने, ‘पूर्व राष्ट्रपति विद्या देवी भण्डारी पूर्व नेता हो । अहिले फेरि नेकपा एमालेमा आएर सक्रिय राजनीति गर्छु भन्ने हो भने कानुनले पनि रोक्दैन संविधानले पनि रोक्दैन । पार्टीको विधानले पनि रोक्दैन । आउने कि नआउने भन्ने बारेमा उहाँले राष्ट्रपतिमा जिम्मेवारी पूरा गरिसकेपछि अब गम्भीरताका साथ सोच विचार गरेर निर्णय गर्नुहुन्छ ।’
त्यस्तै उनले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र अध्यक्ष माधव नेपाले आफ्नो सरकार ढलाउने र अरूको नेतृत्वमा सरकार बनाउनको लागि हस्ताक्षर गर्दे हिँडेको उनको दाबी छ ।
उनले भने, ‘आफ्नै पार्टीको नेतालाई अध्यक्षबाट फाल्ने संसदीय दलको नेताबाट फाल्ने, पार्टी सदस्यबाट पनि हटाउने आफ्नो सत्ता गिराउन अरू सत्तासँग सहमति गर्ने हस्तक्षेप गर्ने अनेक खेल भएका थिए । त्यसले पार्टी फेरी एक भएर जान सकेन त्यो पछि निर्माण गर्ने काम प्रचण्ड र माधव नेपालले गर्नुभएको थियो । आफ्नो सरकार ढलाउने र अरूको नेतृत्वमा सरकार बनाउनको लागि हस्ताक्षर गर्दै हिँडे त्यसैले नेकपा एक ठाउँमा आउन सकेन । यसको जिम्मेवार प्रचण्ड र माधव नेपाललगायतको नेता हो ।’