अमेरिकामा बाल्टिमोर सिटी मेयर अफिसले चिन्यो ‘गौरा पर्व’
बाल्टिमोर,अमेरिका/ मेरील्याण्ड राज्यको प्रमुख सहर बाल्टिमोर सिटी मेयर अफिसले नेपाली ‘गौरा पर्व’ पहिचान गरेको छ। गौरा सुदूरपश्चिमको मौलिक र प्रसिद्ध पर्व हो। यो पर्वले पछिल्ला वर्षहरूमा सुदूरपश्चिम बाहेक अन्यत्र पनि प्राथमिकता पाउन थालेको छ।
मेरील्याण्डमा सार्वजनिक रूपमा गौरा पर्व मनाउन थालिएको दोस्रो वर्षमा नै मेयर अफिसले आफ्नो जानकारीमा राखेको हो।
सुदूरपश्चिम नेपाली समाज मेरील्याण्डले गत वर्ष देखि बाल्टिमोरमा खुल्ला ठाउँमा गौरा पर्व मनाउन थालेको हो।
समाजले यस पटक आइतबार मेरील्याण्डको फल्स रोडमा रहेको सार्वजनिक पार्कमा गौरा पर्व मनाएको थियो। समाजका अध्यक्ष दमन विक्रम शाहका अनुसार नेपालकै शैलीमा विधि पूर्वक गौरा माताको पूजा गरी पर्व बनाइएको हो।
गौरा पर्व मनाउन मेरील्याण्ड र आसपास राज्यमा रहेका सुदूर पश्चिमेली मात्र होइन अन्य क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।
यसै गरी बाल्टिमोर सिटी मेयर अफिसका अधिकारीहरूले पनि स्थलगत रूपमा सहभागी भई गौरा पर्वको शुभ कामना दिएका थिए।
बाल्टिमोर सिटी मेयरको आप्रवासी मामिला कार्यालय ‘मिमा’ का अधिकारीहरूले मन्तव्य नै दिएका थिए।
मेयर अफ इमिग्रेन्ट अफेयर्सकी उप निर्देशक मासुमा इस्लाम लोन्जाक, बाल्टिमोर काउन्टी कार्यकारीका प्रतिनिधि ज्याक बासो, बाल्टिमोर सिटीकी सञ्चार विशेषज्ञ भिक्टोरिया मिन्काले गौरा पूजामा सहभागी हुन पाउँदा आफूहरू खुसी भएको बताएका थिए।
मिमाको फेसबुक पेजमा पनि गौरा पर्वलाई स्थान दिएको छ। ‘मिमालाई गौरा पर्वमा आमन्त्रित गर्नुभएकोमा सुदूरपश्चिम नेपाली समाजलाई धन्यवाद। हामी हाम्रो नेपाली समुदायसँग मनाउन र काम गर्न पाउँदा सधैँ खुसी छौँ। हामी हाम्रा साथीहरू लुसिया (दक्षिण पूर्व सीडीसी) र सुसाना (अपाङ्गता अधिकार मेरील्याण्ड) सँग सामेल हुन पाउँदा उत्साहित छौँ! गौरा पर्वले सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौँ!’
समाजका अध्यक्ष शाहले मेयर अफिसले दिएको पहिचानले आफूहरू उत्साहित भएको बताए। ‘हामीले खोजेकै यी हो, गौरा अव सुदूरपश्चिमको मात्र पर्व होइन यो त नेपालकै पहिचान हो। हामीले हाम्रो पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्नु छ।’ समाज टाइम्स सँग शाहले भने,’हाम्रो पुस्ताले गौरा बिर्सनै सक्दैन, दोस्रो पुस्तामा हाम्रो संस्कृतिलाई पुर्याउन मेयर अफिसको यो कार्यले ठुलो सहयोग गर्छ।’
‘सुदूरपश्चिम नेपाली समाजलाई मेयर अफिस सँग जोड्ने काम गौरा व्यवस्थापन समितिका संयोजक भीम बि.के.ले गर्नु भएको हो म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु।’ शाहले भने।
बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) अध्यक्ष सुबोध विलास पन्तले पनि गौरा माताको पूजा गर्नुका साथै शुभ कामना मन्तव्य दिएका थिए।
भिडियोमा मेरील्याण्डमा मनाइएको गौरा पर्व
गौरा पर्वको दस्ताबेजलाई प्रतिष्ठानको मान्यता
नेपालको सुदूरपश्चिममा सदियौँ देखि मनाउँदै आइएको गौरा पर्वको लिखित दस्ताबेज प्रमाणीकरण भएको छ।
समाजको अग्रसरतामा साहित्यकार तीर्थ पाण्डेले तयार पारिएको दस्ताबेजलाई नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रमाणीकरण गरेको कार्यक्रममा जानकारी दिइयो।
‘गौराका बारेमा अहिले सम्म आधिकारीक लिखित दस्ताबेज नभएको, एकरुपता नभएको भन्ने गुनासो आए पछि सुदूरपश्चिम समाज मेरील्याण्डले साहित्यकार पाण्डेजीलाई त्यस बारेमा अध्ययन गर्ने भनेका थियो त्यसलाई प्रतिष्ठानले अनुमोदन गर्यो । अब हामी सँग नि दस्ताबेज भयो।’ अध्यक्ष शाहले भने।
उनले यस पटकको गौरा पर्वमा तीन उपलब्धि भएको बताए।’ पहिलो त दस्ताबेजको प्रमाणीकरण भयो, सरकारी संयन्त्र सँग हाम्रो सम्बन्ध विस्तार भयो। तेस्रो दोस्रो पुस्तालाई गौराको कथा सुनाउँदै मात्र आएका थियौ अब देखाउन नै सफल भयौ।’ शाहले भने।
पाण्डेको संयोजनमा तयार पारिएको र प्रतिष्ठानले मान्यता दिएको दस्ताबेज
गौरा पर्वको थप तस्वीरको लागि समाज टाइम्सको पो पेजमा जानु होला













