एनआरएनए महासचिव डा.पौडेलको प्रमुख आतिथ्यमा,नर्थ क्यारोलाइनामा डा बन्जाडेको स्वागत
नर्थ क्यारोलाइना,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका नवनिर्वाचित अध्यक्ष डा. अर्जुन बन्जाडेलाई भरोसा नटुटाउन नर्थ क्यारोलाइना बासी नेपालीले आग्रह गरेका छन्।
एनसीसी अमेरिका नर्थ क्यारोलाइना च्याप्टरले नवनिर्वाचित अध्यक्ष डा. बन्जाडेको स्वागतमा आइतबार आयोजना गरेको कार्यक्रमका अधिकांश वक्ताहरूले यस्तो आग्रह गरेका हुन्।
उनीहरूले सिङ्गो समाजको ठुलो आशा र भरोसा रहेकोले संस्था लाई सही दिशामा निर्देश गर्न र अधिकतम नेपालीहरूको अपनत्व विकास गर्न डा. बन्जाडेलाई सुझाव दिइएको थियो।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का महासचिव डा. केशव पौडेलले प्रमुख अतिथिका थिए। नर्थ क्यारोलाइना डा. पौडेलको होम टाउन हो।
उनले गैर-आवासीय नेपाली संघको बृहत्तर हित, स्थापना काल देखीका प्रगति, संस्थाको महत्त्व, अवसर र चुनौतीको बारेमा प्रस्टाए।
यस्तै नव- निर्वाचित अध्यक्ष डा. बन्जाडेले आगामी कार्य योजनाको बारेमा बताएका थिए। उनले टेलीहेल्थ सम्बन्धी आफ्नो चुनावी मुद्दालाई नेपाल सरकारसँग नीतिगत छलफलहरू, नेपाली दुताबाससँगको भेटघाटको आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा दक्षिण क्षेत्रका क्षेत्रीय संयोजक मोहन न्यौपानेले स्थानीय संस्थाहरूसँग कसरी समन्वय गर्ने, युवा पुस्ता र विद्यार्थी वर्गलाई कसरी एनआरएनए अभियानमा जोड्ने भन्ने बारेमा आफ्नो धारणा राखेका थिए।
राष्ट्र बैकका पूर्व कार्यकारी उप निर्देशक तथा अधिवक्ता प्रेम प्रसाद पाण्डेले दोहोरो नागरीताका बारेमा कानुनी अड्चनका बारेमा परामर्श दिएका थिए।
कार्यक्रममा एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर वासुदेव भट्ट, एनसीएनसीका अध्यक्ष राजन पौडेल लगायतले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा नर्थ क्यारोलाइना विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो।
डा. बन्जाडे सँग मिट एन्ड ग्रिट नाममा भएको कार्यक्रम च्याप्टरका नव- निर्वाचित अध्यक्ष सुधन थापाको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रमको संयोजन एनआरएनए एनसीसी अमेरिका दक्षिण क्षेत्रका क्षेत्रीय संयोजक मोहन न्यौपानेले गरेका थिए।
नर्थ क्यारोलाइना च्याप्टरका युवा संयोजक योगेश पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा च्याप्टर सदस्य हिरा शर्माले स्वागत मन्तव्य दिएका थिए।














