नम्रता श्रेष्ठको प्रष्टीकरण : ‘मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे,मेरो मौनतालाई कमजोरी नठान्नुहोला’

काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत उनले आफू विरुद्ध एकातर्फीरुपमा प्रहार गरिएको गुनासो पनि गरेकी छन् ।
उनले लेखेकी छिन् ‘एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला शायद किनकि यो पुरुष प्रधान समाज हो ठिकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु ।’
‘यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ, सुसाईड जस्तो संवेदनशील विषयलाई ग्लोरी गर्नु उचित हुँदैन ।’उनले लेखेकी छिन्।
अभिनेत्री नम्रता अगाडि लेख्छिन्, ‘पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधैँ सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पीत पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटना पछि भिउजका लागि जुन कपोकल्पित समाचारहरू एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म घोर भर्त्सना गर्दछु।’
उनले तथ्यहीन समाचारबाट सचेत रहन पनि आग्रह गरेकी छिन्। ‘यो किसिमका तथ्यहीन समाचार प्रति देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु । ’
शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिर आएका थिए । केहीले नम्रतालाई नै आत्महत्याको प्रमुख कारकतत्वका रूपमा औँल्याउन समेत खोजेका थिए ।
