प्राध्यापक खनालको ‘विश्वेश्वर प्रसाद कोइराला चेतना चिन्तन र राजनीति’ सार्वजनिक

काठमाडौँ । प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वर प्रसाद कोइराला चेतना चिन्तन र राजनीति’ विषयक पुस्तक सार्वजनिक भएको छ ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डाक्टर राम वरण यादवलगायतले सामूहिक रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा यादवले, पुस्तकमा लोकतन्त्रको इतिहासदेखि कम्युनिस्टको इतिहाससम्म सबै कुरा समेटिएको बताए । उनले पुस्तक पढ्दा महाभारत लेखेको जस्तो अनुभूति भएको बताए ।
उनले भने, ‘किताबमा लाग्छ महाभारत लेख्नुभएको छ । लोकतन्त्रको इतिहास सँगसँगै काँग्रेसको, कम्युनिस्टको इतिहास जस्ता सारा कुरा समेट्नु भएको छ । खनालजीलाई धन्यवाद दिन चाहन्छु । ’
७ सालको क्रान्ति १७ सालको घटना ४६ सालको परिवर्तन ६२—६३ को परिवर्तन सारा घट्नाको विवरण किताबमा समेटिएको उनले बताए ।
त्यस्तै लेखक खनालले पुस्तक लेख्दा बिपीको मन र दिमाग भित्र पस्ने प्रयास गरेको बताए । उनले चेतना र चिन्तनको रूपलाई देखाउन चाहेता पनि बिपीले आफूले आफूलाई के भन्छन् भन्ने कुराको खोजी गरेर पुस्तक लेखेको बताए ।
उनले भने,‘पुस्तक लेख्न बस्दा अरूले बिपीलाई के भन्छन् भन्दा पनि बिपीले आफूले आफूलाई के भन्छन् भन्ने कुराको खोजी गरे । चेतना र चिन्तनको रूपलाई देखाउन राजनीति चाहियो तर बिपीको मन र दिमाग भित्र पस्ने प्रयास गरे । ’