विदेशमा रहेका नेपालीको मतदाता नामावली प्रक्रिया सुरु भयो : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ / प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन सुरु भएको दाबी गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वको सँग मङ्गलवार भएको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सो दाबी गरेका हुन्।
‘भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली सङ्कलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।’ एनआरएनए आइसीसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कार्यकारी अध्यक्ष केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गरे पछि प्रमुख आयुक्तले प्रक्रिया सुरु भइसकेको बताएको विज्ञप्तमा उल्लेख छ।
‘आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैर आवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली सङ्कलन गर्ने बताउनुभयो । त्यसका लागि गैर आवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताउनुभयो । नामावली सङ्कलन लगायतका लागि आवश्यक कानुनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै बाँकी काम सुरु गर्ने उहाँको भनाई थियो ।’ विज्ञप्तिमा भनिएको छ।
मेटका क्रममा कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता गरेका थिए।
भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम ,संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति रहेको जनाएको छ।