एनआरएनए आइसीसी निर्वाचन: पन्तद्वारा सचिव पदमा औपचारिक उम्मेदवारी घोषणा
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को सचिव पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
आइसीसीको निर्वाचन अगामी अक्टोबरमा हुँदै छ।
‘संस्थागत एकता, शुद्धीकरण एवं पारदर्शिताको लागी मेरो उम्मेदवारी सचिवमा’ औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै पन्तले सामाजिक सञ्जालमा लेखेका छन्।
यद्यपि उनले उम्मेदवारी दिने योजना बनाएको बताएका छन्।
‘गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबरमा हुने निर्वाचनमा मैले सचिव पदमा उम्मेदवारी दिने योजना बनाएको छु ।’ पन्तले लेखेका छन्।
तनहुँका पन्त अमेरिकाको मेरील्याण्डमा बस्दै आएका छन्। उनले एनआरएनए अमेरिकाको उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पुरा गरेका छन्।
यस पटक एनसीसी अमेरिकाको निर्वाचनमा उनलाई अध्यक्षको दाबेदारको रूपमा हेरिएको थियो। तर पछि उनले एनसीसी अमेरिकाको निर्वाचनमा वाक ओभर दिएर डा. अर्जुन बन्जाडे टिमको चुनावी अभियानमा कमान्डर नै बनेका थिए।
बन्जाडेको जित पछि हौसिएका पन्तले एकै पटक आइसीसीको सचिवमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘जिम्मेवारीमा रहँदा संस्थाको आफ्नै भवन खरिद गर्दा संयोजक, वान एनसीसी वान च्यारिटि अन्तरगत संयोजक हुँदा सल्यानमा प्रसूति गृहको निर्माण, च्याप्टरलाई सशक्तीकरण गर्ने साथै यस अभियानमा युवा तथा महिलालाई प्रोत्साहन गर्ने लगायतका अन्य संस्थागत विकासका कार्यहरू सम्पन्न गरेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’ पन्तले आफूले गरेका कामको विस्तार पनि उम्मेदवारी घोषणाको क्रममा गरेका छन्।
‘आगामी अक्टोबरमा हुने आईसीसी निर्वाचनमा मलाई सचिव पदमा मतदान गरि सहयोग गरिदिनुहुनको लागी विश्वभर छरिएर बस्नु भएका सम्पूर्ण डेलिगेट्स ज्युहरूलाई हार्दिक अनुरोध गर्दछु।’ पन्तले आग्रह गरेका छन्।













