प्रचण्डलाई ओलीको प्रश्न नभएका लडाकुको नाममा लिएको पैसा कहाँ गयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, माओवादी लडाकु शिविरको घोटलाबारे प्रश्न उठाएका छन्।
गुरु लुइटेल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा शनिवार आयोजित ‘समृद्ध नेपाल सुखी नेपाली: देश विकासको मार्ग चित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले माओवादीले सेना समायोजन गर्दा भएको घोटलाबारे प्रश्न उठाएका हुन् । पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले कहाँ लगे भनेर उनले प्रश्न गरे।
‘क्यान्टोनमेनमा के भयो त? ३४ हजार भनियो ३ हजार भागे ३१ हजार भनियो ति पनि थिएनन् । गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याईयो । मान्छे ट्रकका ट्रक जम्मा गरियो । यो दुनियाँले देखेको छ । कतिपय कुराहरु चिरन्जिवीजीहरुले किन नदेखेको जस्तो गर्नु भयो म बुझ्दिन ।’ उनले भने ‘३१ हजार भनेर माओवादीले पैसा लिएको लियै गर्यो । गन्छौ भनेपछि देश भरिबाट मान्छे ओसारियो । २४ हजार मात्र पर्यो । के ३१ हजार बाट २४ हजारमा एकै दिन घटेको हो ? २४ हजार नै सदर गर्दा पनि बीचको पैसा कहाँ गयो त ?
तत्कालिन माओवादी सेना १९ हजार समेत नरहेको उनको भनाई छ ।
प्रचण्डले प्रतिशोधको राजनीति सुरु गरे
अध्यक्ष केपी शर्मा ओलीले, प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी राजनीति जस्तो प्रतिशोधको खेल सुरु गरेको भन्दै आक्रोश पोखेका छन् ।
उनले अब यसको अत्य कहिले हुन्छ भन्न नसकिने तर्क गरे ।
उनले भने ‘मैले अस्ती प्रधानमन्त्री जीलाई भने यो अलि पाकिस्तानी राजनीति । प्रतिशोधको राजनीति उहाँले आज सुरु गर्नु भएको छ । उहाँलाई मजा लागेको छ। यो यहि अन्त्य हुँदैन यो त सुरु भयो । ’
ओलीले नेपालको लोकतान्त्रिक प्रणालीमा कुनै योगदान नै नभएकाहरुको लोकतन्त्रको पक्षमा आवाज उठाउनलेलाई डन्डा चलाउन थालेको भन्दै प्रचण्ड इन्कित आक्रोश पोखे ।
उनले भने ‘यस देशमा शासनमा बस्ने दुई चार जना मान्छेको कुनै योगदान छैन यिनीहरु प्रजातन्त्रको विरुद्ध लडेर आएका हुन् । कुनै योगदान नभएका मान्छे अहिले आएर लोकतन्त्रको पक्षमा आवाज उठाउनेहरुलाई डण्डा चलाउन खोज्ने ? अनेक प्रकारका आरोप लगाउन खोज्ने ? व्ल्याकमेलीङ गर्न खोज्ने । यो समान्य जस्तो देखिन्छ एउटा मान्छे गिरफ्तार हुनु । तर यो सामान्य हैन् । ’
उनले देशका लागि कुनै योगदान नदिएका दुई चार जनाको शासनमा हालिमुहाली रहेको आरोप लगाएका छन् ।
उनले पहिले हत्कडी लगाएर अनि छानबिन गर्ने प्रवृत्तिको विरोध गरे ।
‘पहिले हत्कडी लगाएर खोरमा थुनेर अनि छानविन गर्ने के खालको जमना आयो यो ? पहिले समात्ने अनि छानविन गर्ने । दोषि छ भने थुन्ने की दोषि नभए पनि थुन्ने ?’उनले भने ।
सांसद शर्मा पक्राउ प्रकरणमा सरकारले नाङ्गो नाँच नै देखायो
अध्यक्ष ओलीले सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा सरकारले नाङ्गो नाँच देखाएको आरोप लगाएका छन् ।
उनले चिनियाँ नागरिकले पाएको नागरिकता सक्कली कि नक्कली भन्ने प्रश्न पनि गरे ।
उनले भने ‘ म सरकारलाई भन्न चाहन्छु सुनिल शर्माको सर्टिफिकेट यदि नक्कली हो भने अगाडि नै यो प्रकृया पूरा गरेर कारवाही किन गरिएन ? ज्यादति गरेर कुनै गृहमन्त्री अप्ठयारो र लाज नमानिकन संसदमा उल्टै के को डाटे भन्छ के हिन्दीमा जस्तै सांसदहरुलाई डाँट्न आउने ? कमसेकम अलिकति लज्जाबोध त हुनुपर्छ । बोल्नेहरुलाई हतकडी लगाउने ? जाली र नक्कली सर्टिफिकेट भनेको के ? ’
अध्यक्ष ओलीले नेपाली नागरिकसँग विवाह गरेको चिनियाँ नागरिकसँगको चर्चा सुनेको उल्लेख गर्दै ति चिनियाँ नागरिकले पाएको भनिएको नेपाली नागरिकता सक्कली कि नक्कली भएको भन्दै प्रश्न गरे ।
सांसद शर्मा प्रक्राउ प्रकरणमा ओलीको प्रश्न : स्कुलमा हुँदा चिट चोरेको थिइस् भन्दै क्याम्पसमा समाउने ?
अध्यक्ष ओलीले नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रक्राउ प्रकरणलाई लिएर सरकारको कडा आलोचना गरेका छन् ।
उनले स्कुलमा हुँदा चिट चोरेर पास गरेको भन्दै क्याम्पस पुगेको विद्यार्थीलाई कारवाही गर्न कतिको सुहाउँने कुरा हो भन्दै प्रश्न गरे ।
उनले भने ‘ जाली सर्टिफिकेट भएको भए पोहोर परार पनि होला नी त ? पहिलेदेखि त्यो होला ? किन मुद्धा नचलाएको ? किन कारवाही नगरेको ? अस्ति संसदमा सुन काण्डबारे विरोध गरे पछि अचानक हतकडी लगाउन आयो मान्छे । किन भने तिमी पहिले विद्यार्थी हुँदा पढ्दा छेउको साथीको चिठ चोरेको थ्यौं नी तिमीले भन्दै । तिमीले आफैले लेखेकै हैन् । अर्काको चिट चोरेर पास गरेको त्यसको छानविन गर्दै छौं वाहा…। ’
सरकारले आफ्नो बुद्धि ठेगानमा राखोस भनेर सम्झाउँदै अध्यक्ष ओलीले सरकार अधिनायकवादी बन्न खोजेको आरोप लगाए ।
उनले भने ‘ हतकडी चाही लागि सक्यो कसलाई भन्दा एउटा जननिर्वाचित सांसदलाई जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउछ भने अरु यसै थर्किनु परेन । ’
सुन प्रकरणबारे ओलीको आक्रोश : आँफैले छानबिन गर्छु भन्नु गम्भीर रहस्य
ओलीले, सरकारले सुन प्रकरणमा छानबिन समिति बनाउन नदिएर आँफै छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको टिप्पणी गरेका छन् ।
‘सुन प्रकरणको छानबिन किन आफैं गर्छु भन्नुहुन्छ ? यसको अर्थ र रहस्य गम्भीर छ । ओलीले भने यो यतिकै छानविन गर्न नदिएको हैन नी ? छानबिन मात्र गर्न नदिएको हैन प्रतिपक्षले उठेर सुन तस्करिको छानविन भन्ने वित्तिकै सत्ता पक्ष जराकजुरुक उठेर हा हु हा हु गर्छन् । केही सुन्न र भन्न पाईदैन् । ’
यही सरकारको पालामा २२ पल्ट सुन तस्करी भएको र एक पटक समातिएको र त्यसको पनि आँफैले छानबिन गर्छु भन्नु गम्भीर आपत्तिको कुरा भएको बताएका छन् ।
‘उनको विरुद्ध २२ पल्ट सुन तस्करी भयो । एक पल्ट पक्राउ पर्यो । २२ क्विन्टल पास भईसक्यो । पक्राउ पर्दाको कहानी बेग्लै छ । यहाँहरु छानबिन समिति निश्पक्ष समिति बनाउन मान्नु हुन्न । हामी छानबिन गरिहाल्छौं नि भन्ने । ए बा बा तपाईहरुले नै छानबिन चाही किन गर्नु पर्यो ? पहिले एयरपोर्टमा चाँहि किन गर्नु भएन् । सियो र्छिदैन् २२ क्विन्टल सुन कसरी छिर्यो ?’उनले भने ।
नेपाल न्यूज बैक