पुस्तुनका घिमिरेहरुको इतिहासमा घोत्लिंदा: कृष्णचन्द्र घिमिरे
घिमिरेहरूको प्राचीन हस्तलिखित वंशावलीमा “हाम्रा पुर्खा आयाका मालवा देश, शिप्रा नदी, उज्जैनी शहर, काश्यप गोत्र, काश्यप आवत्सर नैध्रुव ३ प्रवर, यजुर्वेद अलिनी शाखा, निर्मांसिकाया वीर विक्रमाजित राजा, तसका ब्राह्मण, भगवत गुरु सन्तति” लेखिएबाट शिप्रा (छिप्रा) नदीको तटको उज्जैन शहर (हाल भारतको मध्यप्रदेश) त्यहाँका राजा वीर विक्रमाजित अर्थात् विक्रमादित्यका कुलगुरुका सन्तति रहेको कुरा प्रमाणित हुन्छ । (पण्डित सोमनाथ घिमिरे ब्यास आशौच विज्ञान तथा घिमिरे वंशावली २०१६) । यसरी हेर्दा घिमिरेहरूको वंशको इतिहास विक्रम संवत् सुरु गर्ने विक्रमादित्यका कुलगुरुसँग जोडिन्छ र घिमिरेहरुको प्राप्त इतिहास पनि विक्रम संवत् जत्तिकै जेठो छ ।
श्रीमदभागवत महापुराण (१०।४५।३१) मा “काश्यं सान्दीपनिं नाम ह्यवन्तीपुरबासिनम्।” भन्दै भगवान् श्रीकृष्णका गुरु काश्यपगोत्रीय सान्दीपनि पनि उज्जैनबासी थिए । उज्जैनका मालवीय ब्राह्मणहरू, व्यास भनिने ब्राह्मणहरू तिनै सान्दीपनिका सन्तान थिए । विक्रमादित्यका कुलगुरुको नाम गुणपाल थियो । तिनैका सन्तान नै नेपाल आएका कैयौँ पुस्तापछि घिमिरे बनेका हुन् ।
तेह्रौँ शताब्दीमा भारतमा मुसलमानहरूको आक्रमणबाट अस्मिता रक्षा गर्न ठूलो संख्यामा हिन्दूहरु पश्चिमोत्तर पहाडतिर लागे । त्यसबेला उज्जैनबाट आएका जयमुनि कालीकुमाउँ (पिथौरागढ- उत्तरान्चल राज्यनजिक) बसे । उनका द्वारिकादाससम्मका १६ पुस्ता कालीकुमाउमा बसे । त्यो बेला कालीकुमाउँदेखि गण्डकी प्रदेशसम्म बृहत्तर खस राज्य पर्दथ्यो ।
आफ्नो विद्वता र क्षमताले खस राज्यमा समेत प्रभाव जमाउँदै हालको नेपालको पूर्वी भागतिर क्रमशः फैलने क्रममा द्वारिकादासका छोरा हरिदास गुल्मीको घमिर आइपुगे । कतिपय विद्वानहरु घमिर आइपुग्नु पूर्व खस साम्राज्यको राजधानी सिँजा (जुम्ला) सहितका बिभिन्न ठाँउहरुमा सर्दै र तत्कालीन खस राज्यका विभिन्न राजकीय जिम्मेवारी वहन गर्दै घिमिरेहरु घमिर आइपुगेका हुन् भन्दछन् । यो भनाइ सत्य पनि लाग्दछ ।
घमिर बस्ने हरिदासका छैटौँ पुस्ताका ओजभट्ट (औघट)का छोरा गजाधर लमजुङको बाहुनडाँडामा बसाइ सरे । घमिरबाट आएका हुनाले उनलाई घमिरे घमिरे घिमिरे भनियो भन्ने श्रुति छ । कसैले भने घेर्मु नजिक बस्ने हुँदा घेर्मुले घेर्मुले भन्दा भन्दै घिमिरे भएको पनि भन्दछन् । प्राध्यापक डा.राजाराम सुवेदीले गम्भीर स्वभावका ज्ञान-बुद्धि र विद्यामा पारंगत हुनाले यिनका पूर्वज गुणपाललाई सम्मानसाथ गाम्भीर्य ब्राह्मण भन्दाभन्दै अपभ्रंश भइ घाम्भीर्य घाम्भीर्यका सन्तान भन्दाभन्दै घिमिरे भन्न थालियो भन्नुभएको छ । योभन्दा पहिले घिमिरेको व्यास र काश्यपी थर भनिन्थ्यो । इतिहासविद् दिनेशराज पन्तले घिमिरेको पूर्व थर जोशी हो भन्नुभएको छ। कसैले तिवारी पनि मानेका छन् ।
गजाधरका छोरा कुश्माखरले द्वारिकादास अधिकारी खजे दुरा सहित घिमिरे दुरा पुवाँर भण्डारी रावत सुयाल सहित छ थर गुरुङ्ग-इतर जातिको सहयोगमा कास्कीका राजकुमार कालु शाहलाई मागी ल्याई लमजुङको राजा बनाए र लमजुङमा शाहवंशीय राजपरम्परा सुरु गरे ।
तर तीन महिनाभित्रै घले राजाले सिकार खेल्ने निहुँमा कालु शाहलाई विषालु बाण हानी मारिदिए । लमजुङ्ग फेरी घले शासनभित्र फर्कियो । तर कुश्माखरले पुनः कास्कीका राजकुमार यशोब्रह्म शाहलाई मागी कुश्माखरको काम्लोमा बसाल्दै र खजे दुराको नाम्लोले बोक्दै ल्याइयो ।
‘दुराको नाम्लो र घिमिरेको काम्लो’ गरी यशोब्रह्म शाहलाई लमजुङ ल्याइयो।(डा.जगमान गुरुङ्ग)। पुरानकोट दरबार लैजान अनुकूल नदेखी पहिला उनलाई दुराडाँडामा ल्याएर राखियो । यहाँ ज्योतिषी कुश्माखरले साइत हेर्दा त राजा बनाउने उत्तम साइत टर्न लागेको देखिँदा यशोब्रह्म शाहलाई नजिकैको ठूलो चिप्लेटी ढुङ्गा माथि राखी सिन्दुर जात्रा गरी राजा स्थापना गरे । यो ढुंगालाई अझै पनि सिन्दुरे ढुंगा भनिन्छ । उनलाई विसं १५५० असार १५ गते राजा बनाइयो । त्यसपछि उपयुक्त अवसरमा उनलाई पुरानकोट दरबार भित्र्याइयो ।
पछि लमजुङ्गका अन्य गुरुङ्गसहितका जातजातिलाई पुरानकोटको धर्मसभामा बोलाई ‘शाह’लाई राजा मान्नेबारे छलफल गर्दा “यशोब्रह्म शाहले गुरुङ्गहरुलाई ‘तिमीहरूको अघिदेखिको सनातन कुलधर्म लामा ध्याब्रुँले गर्ने काम लामा ध्याब्रुँले गर्नु । ब्राह्मणले गर्नुपर्ने काम उपाध्याय ब्राह्मणले गर्नु । जिया नमास्नु । चाकचकुइ माफ । लमजुङ चार नालमा सिर्तो मेरो बिर्ता तिम्रो’ भन्ने स्थिति दिए । त्यसपछि राजा थाप्ने खसान्त भाइ (ब्राह्मण क्षेत्रीय ) र टीका दिने (शेषान्त भाइ )गुरुङ मिलेर यशोब्रह्म शाहलाई राजा माने । त्यसपछि घले राजालाई जितेर यशोब्रह्म शाहले लमजुङमा एकछत्र राज गरे।” (डा. जगमान गुरुङ्ग दुराको नाम्लो घिमिरेको काम्लो भन्ने लेखबाट)। यसबाट लमजुङ्ग राज्य स्थापना तथा सुदृढ गर्न बाहुन क्षत्रीसहित गुरुङ्गहरुको पनि योगदान रहेको स्पष्ट हुन्छ ।
गजाधरका छोरा कुश्माखरले द्वारिकादास अधिकारी, खजे दुरा सहित छ थरको सहयोगमा लमजुङमा यी लमजुङ्गेहरुले घले राजाहरूको विरुद्ध शाहवंशीय राज्य स्थापना गरे । यी घले राजाहरु तिब्बतबाट आइ बाहुनडाँडा गाउँतिर (घेर्मु?) राज्य स्थापना गरेको कुरा इतिहासका सहप्राध्यापक डा.बमबहादुर अधिकारी उल्लेख गर्नुहुन्छ । तर इतिहासकार प्रा.डा. राजाराम सुवेदी भन्नुहुन्छ मनाङ्गका घले राजाको राज्यक्षेत्रभित्र तत्कालीन लमजुङ्ग पर्दथ्यो ।
मनाङ्गको ङावलमा घलेको राजदरबार थियो । पहिलो मनाङ्गे घले राजा ख्येम्योर घले थिए । तिनको वंशले दश पुस्ता निर्बाध राज्य गर्यो । लमजुङ र मनाङमा एघारौं पुस्ताका अन्तिम घले राजा ताछातोर्खे घले थिए । यिनले ख्युजो भन्ने ठाउँमा (कहाँ हो घेर्मु वा स्याङ्गेतिर हो?) मर्स्याङ्दी नदीको उत्तरी तटमा रातो किल्ला निर्माण गराएर चौकीको काम गराएका थिए।
यिनको सबै जातका राम्रा चेलीबेटी देखे दिउसै अपहरणगरी बलात्कार गर्ने र शोषण बढी भएकाले त्यो अत्याचारको कारण यी मनाङ्गे राजालाई कुश्माखरको प्रयासमा मनाङ्गको टङ्कीको बाटो हुँदै थोराङ्गला घाँटी कटाइ मुस्ताङ्ग धपाइयो र शाहवंशको जग दरो बनाइयो । यही सबै गुनहरुलाई सम्झिएर राजा यशोब्रह्म शाहले कुश्माखरलाई सिमलचौरदेखि दूधखोलासम्म खगरबगर डाँडापाखा बिर्ता दिएका थिए । यो सबै क्षेत्रलाई पुस्तुन मौजा भनिन्थ्यो ।
यो बिर्ता दिएको कुरा इतिहासकार प्राध्यापक डा.राजाराम सुवेदीले इतिहासले बिर्सिएको व्यक्तित्व कुश्माखर घिमिरे नामक पुस्तकको आफ्नो लेखमा उल्लेख गरेका छन् । “राजाले घेर्मुदेखि ध्वँजे र दूधखोलादेखि सिमलचौरसम्मको खगरबगर डाँडा जति सबै तत्कालै संकल्प बोली (कुश्माखर घिमिरेलाई) भूमिदान बिर्तादान गरे..” ।पृ १८।
धर्मराज थापाले लोकसंस्कृतिको घेरामा लमजुङ्ग नामक पुस्तकमा लमजुङको सुरक्षार्थ उत्तरी गौंडा कुर्नुपर्ने भएकाले “कुश्माखरलाई सिमलचौरदेखि माथि टुनाखोलासम्मको सारा जग्गा बिर्ता” दिइयो भनेका छन् ।
सहप्राध्यापक डा.बमबहादुर अधिकारीले लमजुङ्गे राजाले कुश्माखरको सल्लाहपछि गाउँशहरको मुख्य दरबार, पुरानकोटको गृष्मकालीन दरबार र बेशीशहरको शीतकालीन दरबार तथा राइनासकोट, तार्कुघाट, करापुटार, तान्द्राङ्गकोट, भिरपुस्तुन र तुर्लुङ्कोट आदि ठाउँमा सैनिक टुकडी राखेका थिए भनेका छन् । इतिहासले बिर्सिएको व्यक्तित्व …पृष्ठ ३४ ।
डा.बमबहादुर अधिकारी “यशोब्रह्म शाहका तीन भाइ छोरामध्ये कान्छा छोरा नरेन्द्र शाहलाई भिरपुस्तुनको राज्य प्रदान गरिएको थियो” भन्छन् । तर पुस्तुन मौजामा राजा बनाएको र छुट्टै राज्य भएको नभई सैनिक नेतृत्व गरी राज्यको सुरक्षा गर्न खटेको हुनुपर्छ ।
कुश्माखरकै सल्लाहमा लमजुङ्गका कालिका मालिकाहरूको गुठी राख्ने काम यशोब्रह्म शाहले गरेका थिए । ऐ पृ ३७। भीरपुस्तुनका घिमिरेहरुलाई रक्तकाली गुठी प्रदान गरिएको थियो। ऐ पृ ३९।
यी प्रमाणहरुले कुश्माखरले पुस्तुन मौजा बिर्ता प्राप्त गरेका र उत्तरी नाकाको सुरक्षा गर्न भिरपुस्तुनमा सैनिक टुकडी राखिएकाले त्यहाँ कोत स्थापना गरिएको (कोत भनेको सेनाको हतियार राख्ने घर हो) सेना-प्रहरी बस्ने ठाउँमा देवी स्थापना गरिने हुँदा रक्तकालिका मन्दिर स्थापना गरी गुठी राखिएको, सो गुठीजग्गा हाल पनि ठूलीबेसी र चनौटेमा रहेको छ । कोतलाई पछि कोत कोत हुँदै कोट र कोटघर भन्न थालियो । कोटका पुजारी वा रेखदेख गर्नेलाई कोटाले भनिन्थ्यो ।
त्यही मेसोमा कुश्माखर घिमिरेले आफ्नो गाउँ पुस्तुन (बाहुनडाँडालाई पहिले पुस्तुन भनिन्थ्यो) को चारै दिशामा देवीको मन्दिर स्थापना गरे । पूर्वमा रक्तकालीका भीरपुस्तुन, पश्चिममा देवीस्थानकी देवी, उत्तरमा चालिसमुनि दुई खोलाको बीचकी अन्नपूर्णा देवी र दक्षिणमा भाटीनेर सिमकी देवी र गाउँको चौतारामा नागदेवता स्थापना गरी गाउँलाई सुरक्षित गरी बसेको पुष्टि हुन्छ । यी चार देवीहरुलाइ दिदीबहिनी भन्ने जनश्रुति छ । देवीस्थानकी देवी जेठी, रक्तकालिका माहिली र अरु दुइ बहिनी हुन् भनिन्छ । यी मन्दिर ब्राह्मणहरुको मात्र नभएर सबै स्थानीय जात-जातिका साझा हुन् ।
आफ्नो समयका प्रकाण्ड विद्वान प्रखर ज्योतिषी उत्कृष्ट राजनीतिज्ञ कुसुमाकर लमजुङ राज्यका स्थापनाकर्ता ऐतिहासिक सूर्यचन्द्रअंकित झण्डाका परिकल्पनाकार तत्कालीन भारदारीसभा प्रमुख अर्थात प्रधानमन्त्री थिए । उनी राजगुरु र मूल पुरोहित पनि थिए। यशोब्रह्म शाहका छोरा द्रव्य शाहलाई लिगलिगकोट कब्जा गरी गोरखा राज्य बसाउन पनि कुश्माखरको महत्वपूर्ण भूमिका थियो । यसैले नेपाल राज्यको एकीकरणको शुभारम्भ कुसुमाकर घिमिरेबाट सुरु भयो भन्दा पनि अत्युक्ति नहोला ।
यिनै कुश्माखरलाइ पुस्तुन मौजाको बिर्ता र श्री ३ को पदवी दिइएको अभिलेख केशर पुस्तकालयमा छ । पछि जंगबहादुरले कास्की र लमजुङको श्री ३ को पदवी लिएको यही लिगेसीले हो । इतिहासकार दिनेशराज पन्त भन्नुहुन्छ “यशोब्रह्म शाहलाई लमजुङका राजाको रुपमा स्थापना गर्न ज्योतिषी कुश्माखर घिमिरे र खजे दुराहरुले गरेको परिश्रमबाट नै आजसम्म हामी नेपाली भएर बाँच्न पाईरहेका छौं ।” यो नै हामी घिमिरेवंशीहरुको गौरवपूर्ण इतिहास हो ।
(लेखक नेपाल सरकारका पूर्व सहसचिव हुन्)