१७ घण्टा पछि डिलु पराजुलीले दिए डा. अर्जुन बञ्जाडेलाई बधाई

पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा पराजित डिलु पराजुलीले विजयी डा.अर्जुन बञ्जाडेलाई सार्वजनिक रूपमा बधाई दिएका छन्।
निर्वाचन आयोगले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको झन्डै १७ घण्टा पछि पराजुलीले हार स्विकार्दै बञ्जाडेलाई बधाई दिएका हुन्।
जबकि पराजुलीको चुनावी क्याम्पियनका प्रमुख व्यक्ति मध्येका एक नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा. यादव पण्डितले औपचारिक रूपमा नजिता बाहिरिएको केही घण्टामा नै बञ्जाडेलाई बधाई दिएका थिए।
यस्तै पराजुली टिमका क्याम्पेनर नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक एवं एनआरएनए अमेरिकाका संरक्षक बिष्णु सुवेदी, अर्का क्याम्पेनर वेद खरेलले पनि बञ्जाडेलाई बधाई शुभ कामना दिएका थिए।
आइतबार बिहान दश बजे निर्वाचन सकिएको भए पनि निर्वाचन आयोगले राति तीन बजे मात्र औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको थियो। निर्वाचन सकिएको केही घण्टामा नै आइसिसीबाट नतिजा चुहिएको थियो। जस प्रति निर्वाचन आयोगले आपत्ति जनाउँदै औपचारिक रूपमा नतिजा प्रकाशनमा ढिलाइ गरेको थियो।
‘नवनिर्वाचित अध्यक्ष डा. अर्जुन बन्जाडे लगायत नव निर्वाचित हुनु भएको सम्पूर्ण एनसीसीका साथीहरू, आइसिसी सदस्य, तथा च्याप्टरका साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु।’ पराजुलीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले एनआरएनए अभियानमा निरन्तर लागि रहने पनि बताएका छन्। उनले आगामी कार्यसमितिलाई मतदान प्रक्रियामा सुधारका सुझाव पनि दिएका छन्।
‘नव-निर्वाचित कार्यसमितिले निर्धारित समयमा दर्ता भएका सम्पूर्ण सदस्यहरूले भोटिङ लिङ्क नआउने समस्याबाट भोट हाल्न नपाएको, संस्थालाई अन्तर हृदयबाट माया गर्दै आजीवन सदस्य बनेर समेत मतदान गर्न नपाएका जस्ता जटिल समस्याहरूलाई समेत आईसीसीसँग समन्वय गर्दै समाधान गरी आगामी निर्वाचनमा मतदानबाट कोही पनि कुनै बहानामा वञ्चित नहुने वातावरण नव निर्वाचित कार्यसमितिले गर्नेछ भन्ने विश्वास लिएको छु ।’ उनले भनेका छन्।
र यो पनि…