सरकारका कदमबाट धेरैलाई टाउको दुखेको छ : सञ्चारमन्त्री शर्मा

जनकपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।
जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले सरकार गठनदेखि नै सुशासन र भ्रष्टाचारविरुद्धको अभियान खरो उत्रिएको दाबी गरिन् ।
‘सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारको विरुद्धमा कडाइका साथ प्रस्तुत भएको हुँदा सरकारका कदमबाट धेरैलाई टाउको दुखेको छ ।’ उनले भनिन् ‘अहिले नागरिकताविहीन नेपालीका छोराछोरीले नागरिकता पाइरहेका छन् ।
निजामती सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताका साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा पनि बेलाबेला देखिन्छ ।’
मन्त्री शर्माले सक्कली नेपालीलाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहीँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने बताइन् । सरकारले मिटरब्याज पीडितहरुलाई न्याय दिनका लागि शक्तिशाली आयोग बनाएर जनकपुरधामबाट नै समस्या समाधानको पहल गरिएको र पीडितलाई न्याय दिने काम अघि बढेको उनको दाबी छ ।