एकले अर्कालाई खुइल्याएर अघि बढ्दा पार्टी कहाँ पुग्छ ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले पार्टी रुपान्तरणको विषयमा कांग्रेस भित्र भ्रम रहेको बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य ढुंगानाले पार्टी भित्र रुपान्तरण जरुरी रहेको बताए । उनले अब परम्परागत ढंगले कांग्रेस नचल्ने प्रष्ट पार्दै धेरै कुरा सुधार्न जरुरी रहेको बताए । तर सभापतिलाई गाली गर्दैमा पार्टी रुपान्तरित हुन्छ भन्ने भ्रम नराख्न पनि ढुंगानाको आग्रह थियो ।
उनले भने ‘ अहिले हामी खुईलाउने प्रतिस्पर्धामा छौं । सभापतिलाई खुइल्याउन पाए सबै भन्दा ठूलो कांग्रेस हुन पाईन्छ भनेर लागेका छन्, कोही पदाधिकारीलाई खुइल्याउन र कोही महामन्त्रीलाई खुइल्याउन लागिपरेका छौं । ए महामन्त्रीहरु तिमीहरु अर्काको आलोचना गरेर मात्र स्थापित हुने भनेर खुईल्याउन लाग्या छौं । यो खुईल्याउने प्रतिष्पर्धा चल्र्दै गर्दा भोलि पार्टी कहाँ पुग्छ ।’
जनताले कांग्रेसले के निर्णय गर्यो मात्र हैन कांग्रेसले जनताको लागि के निर्णय गर्छ त्यो हेरिरहेका छन् भन्दै केन्द्रीय सदस्य ढुंगानाले भने ‘ बरु जनताले भोगिरहेका समस्या,देशका आर्थिक मन्दीको सामना गरिरहेको वेला कसरी पार पाउने भन्ने विषय उठाऔं, जनताको पक्षमा निर्णय गरेको दिन कांग्रेस ठूलो पार्टी बन्छ ।’














