कसैले भन्दैमा राजीनामा दिन्न तर आफ्नो अन्तरमनले भने एक सेकण्ड बस्दिन : प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले भन्दैमा राजीनामा नदिने तर आफ्नो अन्तरमनले भने एक सेकेण्ड पनि पदमा नबस्ने बताएका छन् ।
सोमबार संसद बैठकमा आफुमाथि लागेको आरोपको जवाफ दिदैं प्रधानमन्त्री दाहालले संसदमा कस्ले नैतिकता देखायो कस्ले देखाएन भन्ने विषयमा गम्भीर हुन आग्रह गरे । राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले उठाएको विषय र मागेको राजीनामाको जवाफ दिदै उनले भने ‘ यसो केही लाग्ने वित्तिकै संसद अवरुद्ध गरी हाल्ने क्रम रोकौं । ’
प्रधानमन्त्री दाहालले नैतिकताको आधारमा कस्ले कति गर्या छ भन्ने बारेमा विवेचना गर्दै भने ‘ दुई दुई पटक मैले राजीनामा दिदाँ तपाईले पढ्नु भाको छ कस्तो परिस्थितिमा दिएँ मैले के आधारमा दिएँ । म माननीय सदस्यलाई छातीमा हात राखेर गम्भीर रुपमा विचार गर्न नैतिकता कस्ले देखायो यो देशमा कल्ले देखाएन् । त्यसको विवेचना गर्न म हार्दिक अनुरोध गर्छु । ’
बढी भावनात्मक भएर बोल्दा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु बढी भावनात्मक भएर बोल्दा समस्यामा पर्ने गरेको प्रष्ट पारेका छन् ।
विवादास्पद अभिव्यक्ति पछि अवरुद्ध भएको संसद बैठक सोमबार बस्दा प्रधानमन्त्री दाहालले आफुमाथि लागेको आरोपको प्रष्टीकरण दिदै आफ्नो सकेसम्म बचाउ गरे । उनले आफु प्रधानमन्त्री नभई छोरी ज्ञानुको बुवा भएर बोलेको जिकिर गर्दै आफ्ना बेला बेलाका बोली अदालत सम्म पुगेको स्मरण गरे ।
उनले भने ‘ ‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ प्रचण्डले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ, ‘मेरो सबल पक्ष वा कमजोरी जे भने पनि सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ । सायद यो मेरो कमजोरी पनि हो, र सायद सबल पक्ष पनि यसभित्र अन्तर्निहित छ कि ? निजीजस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । प्रधानमन्त्रीले बोल्नुपर्ने त दिमागले हो । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको होइन । तर, मान्छेको सत्त्व, जिन, उसको प्रवृत्ति विशेषता जसले हामीलाई अलग–अलग बनाएको छ, त्यही सत्त्वभित्र यो पर्छ । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि हुन्छ कहिले दिमाग ।’
उनले थप भने ‘तर, ७० वर्षतिर अगाडि बढिरहेको समयमा यो बदल्ने कुरा फलामको कुरा हुँदो रहेछ । अब बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ । इमानदारिताका साथ यो तथ्य राख्नुबाहेक मसित के विकल्प छ ? यही हो म, यही हो प्रचण्ड ।’ स्वभाववश म अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र मैलो छैन । नियत सफा भए भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन् । म आत्मसमीक्षा गर्न चाहन्छु । भविष्यमा सतर्क हुन उत्प्रेरित गरेको ठानेको छु ।’
भावनात्मक विषयलाई लिएर हंगामा मच्चाइयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा पारिवारिक पृष्ठभूमिमा भएको भावनात्मक विषयलाई लिएर हंगामा मच्चाइएको जिकिर गरेका छन् ।
प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको सहमति पछि बसेको संघीय संसदको बैठकमा आफ्नो स्पष्टीकरण पेश गर्दै प्रधानमन्त्री दाहालले प्रितम सिंह नेपालमा कसैलाई पनि प्रधानमन्त्री बनाउने हैसियतका व्यक्ति नभएको प्रष्ट पारे ।
उनले भने ‘ यो कुरा हो २०६७—६८ सालको, त्यही क्रममा सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाई हुनुपर्छ भन्ने प्रसंग उठाउनु भयो । उहाँले भनेर म प्रधानमन्त्री हुने कुरा पनि थिएन मैले उहाँलाई प्रधानमन्त्री बनाई दिनुस् भन्ने कुरा पनि थिएन् । तर उहाँले भावनामा आएर तपाई हुनुपर्छ भन्नु भयो, मैले त यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु । नेपालमा पनि कुरा गर्ने गरेको छु भन्नु भाको छ । उहाँले भन्नु भयो । मैले धन्यवाद भने । तर अहिले त्यो स्थिति छैन् र छैन् पनि । कुरा यति नै हो ।’
प्रधानमन्त्री दाहालले यही प्रसंगलाई आफुले पारिवारिक कार्यक्रममा उठाएको तर त्यस्लाई गलतरुपमा व्याख्या गरिएको दावी गरे ।