एमाले सिंहदरबारको सहमतिबाट पछि हटेको हो ?

काठमाडौँ । नेपाली राजनीतिमा आरोप प्रत्यारोप नौलो होइन । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड आफ्नो अभिव्यक्तिका कारण अप्ठेरोमा परेका छन् । अझ ‘के निहुँ पाउँ कनिका बुकाऊँ’ भएको एमालेलाई प्रचण्डले पुस्तक विमोचन समारोहमा बोलेको अभिव्यक्तिलाई लिएर सङ्घीय सांसदका दुवै सदन लगातार अवरुद्ध गर्दै आएको छ ।
शुक्रवारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर आजका लागि स्थगित गरिएको थियो भने राष्ट्रिय सभाको बैठक बस्ने तर एमालेको अवरोधका कारण स्थगित हुने परम्परा कायमै रहेको छ ।
पछिल्लो संसदीय गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले कुनै पहल नगरेको र आफू जुन ठाउँमा बोलाए पनि वार्ताका लागि तयार रहेको अभिव्यक्ति एमालेका अध्यक्ष केपी ओलीले दिएका थिए ।
यस क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफलका लागि एमाले अध्यक्ष ओलीलाई बोलाए । उनले साक्षीको रूपमा सत्तारुढ गठबन्धन तथा संसद्को ठुलो दल नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई पनि बोलाइएको थियो । छलफल सकारात्मक भएको र प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरेपछि गत्यवरोध हट्ने भनेर सिंहदरबारबाट निस्किएका नेताहरू संसद् भवन नयाँ वानेश्वरमा पुग्दा ‘यु टर्न’ भएका छन् । जसले गर्दा आजको संसद् बैठक बस्दै नबसी सूचना टाँस गरेर सोमबार सम्मलाई स्थगित भएको छ । आजको बैठकमा एमालेले प्रष्टीकरण सुन्ने तर चित्त नबुझे सदन चल्न अवरोध गर्ने सङ्केत गरेपछि संसद् बैठक स्थगित भएको बताइएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेले सिंहदरबारमा भएको सहमति कार्यान्वयन नगरेका कारण बैठक स्थगित भएको बताएका छन् ।
उता, एमालेका अध्यक्ष केपी ओलीले संसद् भवनमा सबै कुरा थाहा हुन्छ भन्दै सिंहदरबारबाट निस्किए पनि नयाँ बानेश्वरमा उनले प्रष्टीकरण नभई राजीनामा नै पहिलो सर्त भएको बताएका छन् । ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको आरोप पनि लगाए । ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको बताए । त्यस्तै उनले प्रधानमन्त्रीको ज्येष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको पनि बताएका छन् ।