१५ औँ कोरिया ओपन करातेमा स्वर्ण जित्ने रेगन र सुचित्रा सम्मानित

काठमाडौँ । मानसिंह डोजोले १५ औँ कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । पदक विजेता खेलाडी रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन् ।
दक्षिण कोरियाको बुसानमा जुलाइ १ देखि २ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १०–११ वर्षमा रेगन तथा महिला ८–९ वर्षको एकल काता र कुमुतेमा सुचित्राले स्वर्ण जितेका थिए । कोरिया ओपनमा टोलीको नेतृत्व गरेका मानसिंह डोजोका प्रमुख एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जन पनि सम्मानित भए ।
सोही अवसरमा युएस ओपन कराते च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमन तिमिल्सनालाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र नेपाल कराते महासंघका सदस्य शशीकुमार तितुङले एक कार्यक्रमबिच सम्मान गरे । मेयर महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा मानसिंह डोजोका खेलाडीले पदक जितेर नगरको मात्र नभई सिङ्गो देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा खुसी व्यक्त गर्दै मानसिंह डोजोले खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरे ।
सोही कार्यक्रममा मलेसियाको मेलाकामा जुलाइ २१–२३ तारिखसम्म हुने एकेएफ सिनियर कराते च्याम्पियनसिपमा भाग लिने खेलाडी मीनबहादुर तामाङ र एलिना विकलाई पनि बिदाइ गरिएको थियो ।